विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको हिउँदे अधिवेशन बैठक  आउँदो माघ २५ बस्ने भएको छ । 

माघ ७ गते सुरु भएर अनिश्चित कालका लागि स्थगित भएको प्रदेशसभाको बैठक माघ २५ गते २ बजे बस्ने आइतबार प्रदेशसभा सचिवालयले जानकारी गराएको हो । 

बैठकको मिती तय भएसँगै नेकपाका ३७ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शेरधन राई विरूद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रिया शुरू हुने निश्चित भएको छ । गत पुस १२ गते दर्ता भएको अविश्वासको प्रस्ताव बैठक स्थगित भएका कारण टेबुल समेत हुन सकेको छैन । २५ माघमा बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताब टेबल हुने बुझिएको छ ।

 अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेशसभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका बहुमत प्रदेशसभा सदस्यहरुले तत्काल बैठक सुरु गर्न माग गरेका थिए । प्रदेशसभाको अबको बैठकमा मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्ने छ । यद्यपी मुख्यमन्त्री राई र उनको समूहले भने प्रस्ताव प्रक्रियामा लैजान नहुने दबाब सभामुखलाई दिइरहेको स्रोतको दाबी छ । 

आपूmले कारबाही निलम्बन गरेका सांसदलाई प्रदेशसभामा प्रवेश नदिने र सभामुखले प्रवेश गराएमा बैठक अबरुद्ध गर्ने नेकपा संसदीय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले बताए ।

राजभण्डारीलाई नेकपाको संसदीय दलको बहुमत पक्षले प्रमुख सचेतकबाट हटाइसकेको छ भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चुनेको छ । बहुमत पक्षले पनि मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन गरेको छ ।

सभामुख प्रदीपुकमार भण्डारीले नेकपाका दुवै पक्षले गरेको कारवाहीको सिफारिश कार्यान्वयन नगर्ने अडान मुख्यमन्त्रीकै सामुन्ने राखिसकेका छन् । आफू दलभित्रको किचलोमा प्रवेश नगर्ने, संविधान, कानुन र संसद् नियमावली अनुसार अघि बढ्ने सभामुखले बताउँदै आएका छन् ।