धरान । नेकपाको प्रधानमन्त्री केपी ओली नेतृत्वको समूह निकट सुनसरीका बुद्धिजीवीहरुले स्थिर सरकारविरुद्ध अस्थिरताको खेल खेलिएको आरोप लगाएका छन् । 

अस्थिरतालाई पराजित गर्नुपर्ने दायित्व बुद्धिजीवीहरुमाथि आइलागेको उनीहरुको निष्कर्ष छ । शनिबार धरानमा आयोजित ‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थितिमा बुद्धिजीविको भूमिका विषयक वृहत् विचार गोष्ठी’ मा यस्तो निष्कर्ष निकालिएको छ । 

नेपाल बुद्धिजीवी परिषद् सुनसरीले आयोजना गरेको गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै जनार्दन वस्तीले देशमा आइपर्ने गम्भीर समस्याका बारेमा बुद्धिजीवीले देश र जनताका खातिर सही विचार प्रस्तुत गर्नुपर्ने बताए । 

बुद्धिजीवी परिषद् सुनसरीका अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा आयोजित विचार गोष्ठीमा प्रदेश १को योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यपत्रमाथि प्रा.डा पशुपति मिश्रले टिप्पणी गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याकुरेलले सुनसरीको चतरादेखि नेपालथोकसम्म आगामी १ वर्षभित्रमा पानी जहाज सञ्चालन गर्ने तयारी थालेको बताए । उनले कोशीको १ खर्ब ४० अर्बसम्मको बालुवा बिक्री गर्न सकिने सम्भावना समेत रहेको बताए । प्रदेशको सबै  योजना पूरा भएपछि २ खर्बको प्रादेशिक बजेट ४२ खर्ब पुग्ने उपाध्यक्ष प्याकुरेलले बताए ।

तदर्थ समिति गठन

शनिबार विष्णु मेमोरियल मावि धरानमा भएको भेलाले आठौं सम्मेलन आयोजक समिति गठन गरेको छ । 

परिषद्का अध्यक्ष मोहनकुमार उप्रेतीको संयोजकत्वमा १३ सदस्य तदर्थ समिति गठन गरेको छ । समितिका सदस्यहरुमा रुक्मणि मास्के, कल्याण सिटौला, डा. इन्दिरा मिश्र, भेषराज घिमिरे, सन्तोष कोइराला, गायत्री घिमिरे, बादल भट्टराई, मिथिला पोखरेल, लीला शिलवाल, शान्तिराम दाहाल, अमृत राई छन् । विचार गोष्ठीमा प्रा. डा. बद्रिविशाल पोखरेल, गोपी खतिवडालगायतले मन्तव्य राखेका थिए ।