विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरुद्धमा देशव्यापी रुपमा उर्लेको जनलहरले उनको तानाशाही ढाल्ने बताएका छन् ।
विराटनगरस्थित विरोध सभामा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओली आरोलो लागेको दाबी गर्दै भने, ‘सही र न्याय कहिले हारेको छैन । विचरा ओलीसँग कसरी हार्छ ? ।’
नेपालले निर्वाचन आयोगले ओलीलाई धक्का दिएको बताए । ‘केपी ओली ओरालो लागिसके । ओलीका मानिसको होस हवास भएका छन् । पहिलो धक्का निर्वाचन आयोगबाट पाउनुभएको छ,’ उनले भने । ओलीले संविधानको घाटी निमोठेको नेपालको भनाई छ ।
ओलीले पार्टीमा तमासा गरेको पनि उनले आरोप लगाए । प्रथम अध्यक्ष दाबी गर्ने ओलीले नै पार्टीको अनुशासन उल्लंघन गरेको बताउँदै भने,’ पार्टीभित्र कसैले तमासा गरिरहेको छैन । आफूलाई प्रथम अध्यक्ष भन्ने अनि पार्टीको अनुशासन उल्लंघन गर्दै आएका छन् ।’ ओलीले बाटाबाटामा डमरु बजाउँदै आउनुस् केन्द्रीय सदस्य लिनुस् भनेको नेपालले आरोप लगाए ।
उनले ओली गुटमा अहिले विजोग भइरहेको सुनाए । ‘केपी ओलीको गुटमा अहिले बिजोग छ । न घरको न घाटका भएका छन् । त्यो गुटको केही काम छैन । केपी ओलीले कहिल्यै रचनात्मक काम गर्दैनन्,’ उनले भने, ‘पछारिए पछि पनि मेरो खुट्टा त माथि नै छ भन्छन् । केपी ओलीले केके भनेका छैनन् । हामी त्यो सबैको चर्चा गर्न पनि चाहँदैनौं ।’