ताप्लेजुङ। ताप्लेजुङको सुदूर उत्तरीभेगका तेञ्जिङ शेर्पा निकै निराश भएका छन् । विगत वर्षका हिउँदमा बाक्लै हिउँ परेर जमिन सुख्खा हुनबाट जोगिँदै आएको थियो । बाक्लो हिउँ पर्नु भनेको उच्च पहाडीभेगका बासिन्दाका लागि समस्याभन्दा पनि वरदान हो । यसपालिको हिउँद हिउँ नै नपरी बित्न लागेकाले खडेरी र सुख्खाको मारमा परेर अनिकाल आइलाग्ला कि भन्ने चिन्ताले शेर्पाको मन खिन्न भएको हो । 

ताप्लेजुङको ओलाङ्चुङगोला, घुन्साका स्थानीयलाई हिउँ नपरेर बालीनाली बिग्रन्छ कि भन्ने चिन्ता छ भने पाथीभरा क्षेत्रका स्थानीयलाई हिउँ खेल्न आउने आन्तरिक पर्यटक (ग्राहक) नआउने हुन् कि भन्ने पिरलो छ । बुधबार सदरमुकाम फुङ्लिङको तापक्रम दुई डिग्री सेल्सियस मापन हुँदा माथिल्ला बस्तीहरू ओलाङ्चुङगोला, घुन्सा, याङ्मालगायतमा ऋणात्मक (माइनस) मा झरेको छ ।

कुवा र धारामा पानी जमेर सिसाजस्तै भएको छ तर, हिउँ पर्न सकेको छैन । शेर्पाले भने, ‘चिसो अत्यधिक बढिरहेको छ । अकाश खुल्ला हुँदा हावा चलिरहेको छ । तर, अघिल्ला वर्षहरूमा हिउँले ढपक्क ढाकिने पहाड हिउँविहीन छन् । बेलामा हिउँ नपर्दा अन्नबाली लगाउने जमिन सुख्खा हुने र खडेरीको मारमा पर्ने निश्चित छ ।’ 

हिउँदयाममा परेको हिउँ जमिनको भित्री तहसम्म पुगेर सञ्चित जलको रूपमा रहने भएकाले कृषि उत्पादनका लागि फाइदाजनक मानिन्छ । तर, बेमौसममा परेको हिउँले प्राकृतिक विपद् निम्त्याउनुका साथै किसानका लागि बेफाइदा पुग्ने शेर्पाले बताए । उनले भने, ‘बेमौसमको हिमपातले हिमताल फुट्ने, नदी कटान र भू–क्षयको जोखिम निम्त्याउने गर्छ । बेलामा परेको हिमपातले जमिनभित्रको तहमा जल सञ्चय गरेर ‘रिचार्ज’ गर्ने भएकाले हिउँदयामको हिउँ वरदान मानिएको हो ।’ उनका अनुसार अनुकूल मौसमको हिमपातले जमिनको उर्वराशक्ति वृद्धि गर्नुका साथै अन्नबाली लाग्ने विभिन्न रोगहरू रोकथाम गर्न सघाउ पु¥याउने गर्छ ।

विगतमा माथिल्ला पहाडीभेगमा सेतै हिउँले ढपक्कै ढाक्न थालेपछि स्थानीय बासिन्दाहरू जाडो छल्न तल्लो क्षेत्र झर्ने गर्थे । यता पाथीभरा क्षेत्रको देउराली, काफ्लेपाटी, ठूलो फेदीसम्म हिउँ खेल्न आउनेको घुइँचो नै हुन्थ्यो । खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा छन् । खेतबारी मरुभूमिजस्ता भएका छन् । पछिल्ला वर्षहरूमा हिउँ पर्न छाडेको छ ।

स्थानीयवासीका अनुसार बाह्रै महिना हिउँले भरिने पहाडहरूमा हिउँ क्रमशः घट्दै गएको छ । नाङ्गा डाँडा र फुङ्ग उडेको मैदान मात्र छ । कृषकहरू भने अझै हिउँ पर्छ कि भन्ने आशामा छन् । घुन्साका टासी शेर्पाले भने, ‘हिउँ परेन भने खडेरी लाग्छ । हिउँ बिनाको ओलाङ्चुङगोला र घुन्सामा बस्नुको अर्थ हुँदैन ।’ त्यहाँ मात्र होइन, यो वर्ष पूर्वकै प्रशिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिउँ परेको छैन । तल्लो फेदी हुँदै सुकेटारसम्म झर्ने हिउँ त परै जाओस्, गत पुसमा बाक्लो तुषारो पनि नपरेको माथिल्लो फेदीका स्थानीयले सुनाए ।

हिउँ नपर्दा खर्क र बस्तीहरूमा आगलागीको जोखिम

केही समयअघि पाथीभरा क्षेत्रको वनमा लागेको डढेलो नियन्त्रणका लागि निकै हम्मे–हम्मे प¥यो । करिब दुईसाता पछिमात्रै डढेलो नियन्त्रणमा आयो । डढेलोले पाथीभरा मन्दिर नै जोखिममा परेको थियो । हेलिकप्टरबाट पनि डढेलो नियन्त्रणको प्रयास गरियो । दुई साताभन्दा बढी लागेको डढेलोका कारण खस्रु र गोब्रे सल्लाका वर्षौं पुराना रूख धेरै जलेका छन् । 

हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले हाब्रेको आहार मालिङ्गोसमेत डढेलोमा पर्दा कति हाब्रे विस्थापित भए भनेर अनुमान गर्न नसकिएको बताए । उनका अनुसार डढेलो लागेको क्षेत्र हाब्रेको बासस्थलसमेत हो । हिमाली बस्तीमा बस्नेहरूका लागि बाक्लो हिउँ पर्नु भनेको आगलागीबाट बच्नु पनि हो । हिमाली बस्तीमा प्रायः सबै घरको छानो काठले बनाएको हुन्छ । हिउँ पर्दा सुकेको काठलाई ढपक्कै ढाक्ने गर्छ । आगोले काठ भेटे पनि हिउँका कारण बल्न पाउँदैन । तर, हिउँ नपरेमा आगलागीको जोखिम बढ्ने स्थानीय बताउँछन् । 

पापुङका स्थानीय छेतेन शेर्पाले भने, ‘हिउँ नपर्दा पानीका मुहान र धारा पनि सुक्न थालेका छन् भने चिसोले पानी जमेको छ । यस्तो समयमा आगलागी भयो भने नियन्त्रणमा लिन सकिँदैन ।’ शेर्पाका अनुसार चिसो अत्यधिक बढ्दा कोही चौंरी गोठसहित बेंसीतर्फ झर्न थालेका छन् । हिउँ नपरे चिस्यान जलसञ्चय गर्न पुग्दैन, त्यसैले यसपटक जौ, उवा र आलु बालीमा असर परेको छ । यो वर्ष अन्न उत्पादनमा कमी आउने सम्भावना रहेको उनको भनाइ छ ।