पथरी । मोरङको कानेपोखरी अस्थाई प्रहरी चौकी नजिकै श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान फरार रहेका छन् । 

मादकपदार्थ सेवन गरेका ३५ बर्षिय बद्रि मरीकले कान्छी श्रीमती ३० वर्षीया मालो ऋषिदेवलाई निर्घात कुटपिट गरेपछि उनको मृत्यु भएको हो । घटना गत सोमबार दिउँसो २ बजे भएपछि माइती पक्षले भोलिपल्ट मात्र थाहा पाएको मृतकका काका कुसुमलाल ऋषिदेवले बताए । उनले मृतक मालो ऋषिदेवको शरिरमा निलडाम, मुखभरी फिज भएकाले हत्या गरेको भन्दै प्रहरीसँग छानविनको माग गरेका छन् । श्रीमान बद्रि मरिक भने भोलि पल्ट विहान मात्र भागेको स्थानीयहरुले बताएका छन् । 

उनिहरु पहिले देखि नै कानेपोखरी चोकको सार्वजनिक शौचालयमा काम गर्दै आएका थिए । बद्रीकी जेठी श्रीमती लालु मरिक पनि सँगै बस्दै आएकी छन् । उनिहरु शौचालय सँगै जोडिएको झुप्रोमा बस्दै आएका छन् । मृतकका १ छोरा र १ छोरी छन् । प्रहरीले यसको छानविन गर्नुपर्ने आदिवासी जनजाती महासंघ कानेपोखरीका अध्यक्ष भोजविर माझीले बताए । 

पूर्वपश्चि राजमार्गको दक्षिणमा सार्वजनिक शौचालय र उत्तरमा अस्थाई प्रहरी चौकी लगभग ४० मिटरको दुरीमा छन् । फरार रहेको श्रीमानको खोजिकार्य भईरहेको अस्थाई प्रहरी चौकीका असई सिताराम थापाले बताए ।