इनरुवा । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डको ढुलमुले प्रवृतिका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको बताएका छन् ।
सुनसरीको दुहवीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधान मन्त्री पोखरेलले प्रचण्डकै कारण मुलुकले सोचे अनुरुपको प्रगति हात पार्न नसकेको बताए ।
एकातिर सहमति गरी अर्को तिर कुद्ने प्रचण्डको स्वभावलाई पोखरेलले ढुलमुले प्रवृतिको संज्ञा दिएका छन् । पोखरेलले प्रचण्ड उपर पार्टी भित्र संगसंगै अघि बढ्ने सहमतिको विपक्षमा गई स्वार्थ लिप्सामा लागेको आरोप समेत लगाए ।
प्रधानमन्त्रीलाई घेरामा हाली आफु सर्वेसर्वा बन्न खोज्दा मुलुक खाडलमा जाकिने भएकाले प्रधानमन्त्रीले बाध्य भएर पछिल्लो कदम चाल्नु परेको पोखरेलको तर्क थियो ।
सम्बोधनको क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव पक्ष ताजा जनादेशमा जान डराएको उल्लेख गरे । उनले बाहिर देखिएको हल्लाको पछि नलाग्न भन्दै सबैलाई चुनावको तयारीमा लाग्न आग्रह समेत गरे ।
सो कार्यक्रमलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले समेत सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा मुख्यमन्त्री राईले आफु विरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताए । उनले भीम आचार्यको कुनै पनि तिकडमले काम नगर्ने भन्दै आफु विरुद्धको अविश्वास प्रस्ताव पास हुनै नसक्ने दावी गरे ।
राईले मुख्यमन्त्रीमा निर्वाचित भए देखि नै आफुलाई भीम आचार्यका पक्षका नेताहरुले काम गर्न नदिएको बताए । असहयोगका बाबजुत आफु प्रदेश र प्रदेशवासीको हकमा लागिपरेको बताएका राईले कुनै पनि हालतमा विपक्षीको जित सम्भव नहुने दाबी गरे ।
सुनसरीको दुहवी रंगशालामा आयोजना गरिएको जिल्ला स्तरीय कार्यकर्ता भेलामा प्रचण्ड माधव पक्षका केहि नाम चलेका नेताहरु ओली गुटमा प्रवेश गरेका थिए ।