धरान । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ। 

प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बोलेका तीन वटा कुराले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले हालेको मुद्धामा डा. मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतमै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ओलीले ‘बाजे वकीलले तमासा गरेको’ भन्दै टिप्पणी गरेका थिए । त्यसैगरी बहसलाई पनि ‘वकीलहरुले फिटेको फिटै छन्’ भनेका थिए। भने विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले ‘अदालतले पुनःस्थापना गर्नै नसक्ने’ बताउँदै आएका छन् । मुख्यगरी यिनै तीन विषयलाई आधार बनाएर मुद्धा हालेका थिए ।

पूर्वप्रधानन्यायाधीशलाई पनि उपस्थित हुन आदेश

सर्वोच्च अदालतले  पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण शर्मा र सुशीला कार्कीलाई पनि अदालतको अवहेलना मुद्धामा उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

त्यस्तै पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि अदालतमा उपस्थित भएर जवाफ दिन सर्वोच्चले आदेश दिएको छ। चार न्यायाधीशले विज्ञप्ति प्रकाशन गरी ओलीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेको उल्लेख गरेका थिए । भने पूर्व सभामुख ढुंगानाले ‘संसद पुनःस्थापना नभए जनताले न्यायाधीशलाई सडकबाट तान्ने’ अभिव्यक्ति दिएपछि मुद्धा परेको थियो ।