भद्रपुर । नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा व्यापार प्रहरीकै संरक्षणमा सञ्चालन भइरहेको छ । वेला बखत प्रहरीले नियन्त्रणमा लिएपनि लेनदेनको कुरा मिलाएर ती कारोबारीलाइ छाडदै आएपछि व्यापार मौलाएको हो ।

 भद्रपुरमा चिठ्ठाका घट्ना पटक – पटक दोहोरी रहेका छन् । प्रहरीले  बरामद गरेको चिठ्ठामा रकम परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाटै चिठ्ठाको ठेली समेत गायव भएको पुरानो घट्ना समेत वाहिर आएको थियो । चिठ्ठासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आपसी सहमतिमा पटक– पटक छाड्दै आइरहेको छ  ।

भारतका  र नेपालका  केही युवा समूह दिनभर भद्रपुरमा चिठ्ठा बिक्रीवितरण गराउन बसिरहेको बारेमा प्रहरीलाई पूर्व जानकारी हुदा समेत उनीहरु हाल सम्म पक्राउ पर्दैनन् ।

वडा प्रहरी कार्यालयको आसपासबाट ती युवाले चिठ्ठा बोकेर भद्रपुर आउने गरेका छन् ।

चिठ्ठाका कारण भद्रपुरमा युवाहरुको जिवन नै वर्वाद हुन थालिसकेको छ । केही युवा रोजगारी गुमाएर बेरोजगारी नै भइसकेका छन् ।

मुख्यगरी भद्रपुरको बजारमा रहेको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास  कामेश्वर कम्प्लेक्स , सब्जी लाइन , सुन पसल ,बस पार्क, गिरी चोक, चन्द्रगढीका सुन लाइनमा भारतीय चिठ्ठाको  खरिद बिक्री हुने गरेको पाइएको छ । 

भारतबाट दैनिक ज्याला मजदूरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिठ्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेशामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक चिठ्ठा खेल्ले लतनै बसीसकेको पाइएको छ ।

भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिठ्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुन थालेको छ । 

केही समय अघि वडा प्रहरी कार्यालय भद्रपुरले स्थानीय दुइजना युवालाइ चिठ्ठासहित भद्रपुर बजारबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले एकजनाबाट २० र अर्कौबाट १० हजार रुपैयाँ लिएर उनीहरुलाइ छाडेको घट्ना वाहिर आएको छ । भद्रपुरको देउराली होटलमा कारोबार भएको स्रोतले जनाएको छ ।

यस्ता घट्नाले भारतीय चिठ्ठा नियन्त्रण हुन सकेको छैन । अहिले बजारमा १०,२५,५०,१०० र २०० सीरीजका चिठ्ठा भद्रपुर तथा चन्द्रगढी क्षेत्रमा बिक्री भइरहेका छन् ।

नेपाली समय अनुसार दिउँसो १२ बजे ,अपरान्ह् ४ बजे र वेलुका ८ बजे खुल्दै आइरहेको छ । 

कुनै पीडित व्यक्तिबाट लिखीत उजुरी नपरेसम्म यो विषयमा जानकारी नहुने जिल्लाका डिएसपी राकेश थापाले बताए । उजुरी परेमा कानुन व्यवसायीसँग परामर्श लिइने उनको भनाइ छ । 

 चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् ।

कुनै चिठ्ठा  खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिठ्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिठ्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आफू  साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिठ्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिठ्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिठ्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुनेछ । भन्ने चिठ्ठा ऐनमा प्रस्ट व्यवस्था छ । 

तर, कानून कार्यान्वय गर्ने निकायले यसतर्फ ध्यान पु¥याउन नसकेकोले नेपाली सिमावर्ती बजार क्षेत्रमा भारतीय चिठ्ठा खेलले दैनिक लाखौ रकम भारत गइरहेको छ ।