भण्टाबारी। भारततर्फ बेच्न लगिँदै गरेको अवस्थामा एक युवतीको प्रहरीले उद्धार गरेको छ ।
बिहेको प्रलोभनमा पारेर बेच्न लैजाँदै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले युवतीको उद्धार गरेको हो । युवतीको उद्धारसँगै एक युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।
धादिङ थाक्रे गाउँपाललिका–१० की १७ वर्षीया रोशनी बर्तौलालाई उद्धार गरिएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए । उनलाई कोशी गाउँपालिका–१ पुरीटोलको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारततर्फ लैजान संलग्न भारत अररिया जिल्ला बसमतिया पञ्चायत–९ भैरवगञ्जका २१ वर्षीय मुस्ताफालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका मुस्ताफालाई कानूनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । यसअघि पनि त्यसक्षेत्रमा थुप्रै युवतीहरूको उद्धार गरिएको थियो । नेपाल–भारतको सीमा क्षेत्रबाट प्रहरीले युवतीहरूलाई उद्धार गर्दै आएको छ ।
यसअघि सीमावर्ती क्षेत्र जोगवनीबाट एक युवतीको उद्धार गरिएको थियो । त्यसमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीसमेत अगाडि बढाएको छ ।