विराटनगर । फर्जी कर्मचारी देखाएर मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् । 

विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत जनकपुर ८ घर भइ विराटनगर बस्दै आएका ४२ वर्षिय सुधिर सिंह राठौर र कम्प्युटर शाखाका सुनसरीको देवानगन्ज गाउँपालिकाका २० वर्षिय राजनारायण चौधरी मंगलबार पक्राउ परेका हुन् ।

राठौर करिब चार वर्षअघिदेखि विराट मेडिकल कलेजमा कार्यरत छन् । उनले अस्पतालमा जागिर खान आवेदन दिएका पाँच जना व्यक्तिहरूको नागरिकता प्रयोग गरि लाखौं रुपैयाँ अपचलन गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । 

राठौरले गत भदौ देखि अञ्जली झागड ऋषिदेव, रमिता भगत, राजबति झागड ऋषिदेव, रीता कुमारी थापा मगर र सुनिता ऋषिदेवलाई जागिरमा लगाएको नक्कली कर्मचारी खडा गरेर पैसा अपचलन गरेको प्रहरीको प्रारम्भिके अनुसन्धानबाट खुल्न आएको छ । ‘नक्कली कर्मचारी खडा गरि मेडिकल कलेजको पैसा अपचलन गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘मेडिकल कलेजबाट कति पैसा कसरी अपलन गरेको रहेछ । त्यो पछि अनुसन्धानबाट खुल्नेछ । अहिले हामीले अनुसन्धान गर्दै आएका छौं ।’

राठौर मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विश्वास गरेको व्यक्ति हुन् । त्यही भएर उनलाई प्रमुख प्रसासकीय अधिकृतको जिम्मेवारी सुम्पिएका थिए । ‘गत भदौ महिनादेखि पाँच जना व्यक्तिहरू मेडिकल कलेजमा काम गरेको विवरणमा देखिन्छ । तर फिल्ड र स्टाफ लिस्टमा कर्मचारी देखिदैन । उनीहरूको नाममा भने पैसा झिकेको देखिन्छ,’ विराट मेडिकल कलेजले दिएको निवेदनमा उल्लेख छ । राठौरले नक्कली कर्मचारी नियुक्त गरेको कर्मचारीको नाममा माछापुच्छे्र बैंकमा खाता खुलेको पाइएको छ ।

राठौरले नक्कली कर्मचारी खडा गरेका मध्ये रमिता भगतको बैंक खातामा जम्मा भएको ५१ हजार रुपैयाँ बैंकबाट विनोद भगत नाम गरेका व्यक्तिले झिकेका खुलेको छ । विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले नियुक्ती गरेको कर्मचारी कार्यालयमा नभेटेको पैसा अपचलन भएको पाएपछि प्रहरीमा उजुरी दिएको बताए । ‘हामीले प्रहरीमा उजुरी दिएका छौं । अहिले अनुसन्धान भइरहेको होला । यस विषयमा सबै कुरा प्रहरीले बताउनेछ,’ कार्कीले भने । 

पक्राउ परेका राठौर र चौधरीलाई मोरङ प्रहरीले बुधबार ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान अगाडी बढाउने तयारी गरेको छ ।