विराटनगर/ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दुई दर्जन बढी एजेण्डाहरू ल्याएपछि आइतबार बिहान ८ बजे आह्वान गरेको ८० औं कार्यपालिकाको बैठक आज (सोमबार) दुई बजे बस्ने गरी स्थगित भएको छ । प्रमुख पराजुलीले महानगरपालिकाको कार्यपालिका बैठकमा एकलौटी रूपमा धेरै एजण्डाहरू लिएर आएपछि तीनजना वडाध्यक्षहरूले त्यसको विरोध गरेपछि बैठक आज बस्ने गरी स्थगित भएको हो ।

प्रमुख पराजुलीले आइतबारको कार्यपालिकाको बैठकमा २५ वटा एजेण्डा लिएर २ घण्टाभित्रमा पारित गर्नुपर्ने भन्दै आएको स्रोतको दाबी छ । प्रमुख पराजुलीले ल्याएको एजेण्डालाई लिएर विराटनगर–३ का वडाध्यक्ष विनोदकुमार बस्नेत, ५ का वडाध्यक्ष मीनकुमार आचार्य र ९ का वडाध्यक्ष विश्वनाथ भगतले विरोध गरेपछि बैठक प्रभावित भएको थियो । प्रभावित भएको उक्त बैठक आज दिउँसो २ बजे बोलाइएको छ ।

आज बस्ने बैठकमा २ वटा एजेण्डामा मात्र छलफल गरी पारित गरिनु पर्ने कार्यपालिकाको अधिकांश सदस्यहरूको राय छ । ‘कार्यपालिकाको बैठक महिनामा दुईपटक बस्ने गरेको छ । तर, विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले लामो समयपछि एउटै बैठकमा २५ वटा एजेण्डा लिएर आएपछि आइतबारको बैठक बस्न नसकेको हो’ कार्यपालिका सदस्य समेत रहेका विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्यले भने, ‘विगतका दिनहरूमा एउटा बैठकमा बढीमा ३ वटा एजेण्डामा छलफल हुने गरेको थियो  ।’ 

प्रमुख पराजुलीले एकलौटी गर्न खोजेपछि बैठक बस्न नसकेको उनले बताए । ‘बैठकमा आएका एजेण्डाहरूमाथि घनिभूतरूपमा छलफल हुुनुपर्दछ । धेरै एजेण्डा आउँदा छलफल हुन सक्दैन । झारा टार्ने काम गर्नु हुँदैन ।

सबै कुरामाथि पारदर्शी ढङ्गले छलफल गरिनु पर्दछ’ अर्का वडाध्यक्ष विनोकुमार बस्नेतले भने, ‘प्रमुख पराजुलीले धेरै एण्जेडा ल्याएपछि कार्यपालिकामा रहनुभएका साथीहरूको ध्यानाकर्षण भएको हो । बोर्ड बैठकमा आएका एजेण्डाहरू छलफल र प्रक्रियासम्मत आउनु पर्दछ । सबैले अपनत्व हुने गरिको हुनुपर्दछ ।’ मेयरले आफू खुसी धेरै एजेण्डा ल्याएपछि बैठक प्रभावित भएको उनले बताए । 

‘सोमबार बस्ने बैठकमा २ देखि ३ वटा एजेण्डामाथि छलफल गर्ने गरी बैठक बोलाइएको छ । सबै एजेण्डा समावेश गरेर घनिभूत रूपमा छलफल गरी पारित गरिनुपर्ने मेरो राय हो । यसरी एकै पटकमा धेरै एजेण्डामा छलफल गर्दा राम्रो हुँदैन’ उनले भने, ‘तोकिएको मितिमा बोर्ड बैठक बसेर क्रमबद्धरूपमा एजेण्डामाथि छलफल हुनुपर्दछ ।’

विराटनगर महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्कीसहित २९ जना सदस्य छन् । जसमध्ये १९ जना वडाध्यक्षहरू छन् ।

यता विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले आइतबार नियमित बैठक बसेर आज पुनः बैठक निरन्तर सञ्चालन हुने दाबी गरेका छन् । २५ वटा नभएर बढीमा १२ वटा मात्र एजेण्डा बैठकमा लैजाने उनले बताए । प्रमुख प्रशासकीय अधिकृत १५–२० दिन बिदामा भएकोले यस पटकको कार्यपालिकाको बैठक ढिलो बसेको उनले बताए ।