विराटनगर । मोरङको कटहरी गाउँपालिका २ आर्दशटोलमा न्यु आरोही ग्रील वर्कसप संचालक प्रकाश साह ठगी आरोपमा पक्राउ परेका छन् । 

साहले उपभोक्तालाई ठगी गरेको आरोपमा शनिबार पक्राउ परेका हुन् । मोरङ जहदा गाउँपालिका ४ मधुराटोलका एबिन श्रेष्ठलाई वर्कसपका संचालक साहले ठगी गरेको खुलेको छ । 

श्रेष्ठले साहको वर्कसपदेखि केही दिन अगाडी ग्रिलको ढोका खरिद गरेका थिए । ‘प्रतिकेजी १ सय २५ रुपैयाँले ९० केजीको ग्रिलको ढोका ११ हजार २ सय ५० रुपैयाँ तिरेर खरिद गरेको थिएँ,’ उपभोक्ता श्रेष्ठले भने, ‘कम तौल भएजस्तो लागेर अर्को ग्रिलको उद्योगको तराजुमा लगेर तौलिदा ६१ केजी देखायो । त्यसपछि आफु ठगीमा परेको पत्तो पाए ।’ साहले संचालन गरेको डिजिटल तराजुमा ९० केजी देखाएपछि अर्कोमा लगेर चेक गर्दा ६१ केजी मात्र देखाएको उनले बताए । संचालक साहले उपभोक्ता श्रेष्ठलाई बढी तौल देखाएर २९ केजीको ३ हजार ६ सय २५ रुपैयाँ ठगी गरेका छन् ।

डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको पाएपछि साहलाई वडा प्रहरी कार्यालय विराटनगर ‘ख’ का प्रमुख सही सीमा डाँगीको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो । ‘ग्रील वर्कसपले उपभोक्तालाई ठगी गरेको उजुरी आएपछि संचालकलाई नियन्त्रणमा लिएका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘घर बनाउने उपभोक्तालाई कम तौलको ग्रिलको ढोका दिएर बढी पैसाँ लिएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको छ । यस घटनामा अहिले अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका साहलाई प्रहरीले आइतबार कालोबाजरी ऐनअन्र्गत मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।  

प्रहरी नियन्त्रणमा रहेका साहले यसअघि पनि उपभोक्तालाई यसरी कम तौलका झ्याल ढोका विक्री गरेर बढी तौल देखाएर ठगी गर्ने गरेको स्थानियतको भनाई छ । साहले विक्री गरेको ग्रिलको ढोका र झ्यालको बिक्री बितरण गरेको बिल पनि नदिने गरेको उपभोक्ताहरुको भनाई छ । ‘बिल माग्दा छैन भन्दै सादा कागजमा सहि गरेर विक्री गरेको सामानको मूल्य राखेर दिने गरेको छ,’ उपभोक्ता श्रेष्ठले भने । संचालक साहले वर्कसप पनि दर्ता नगरि संचालनमा ल्याएको बताइएको छ । 

यता न्यु आरोही ग्रील वर्कसप संचालक प्रकाश साहले तौलिने क्रममा मिस्टेक भएकोले आफुबाट गल्ती हुन गएको स्विकार गरेका छन् । ‘तौलिने क्रममा कहिले काही मिस्टेक भएको हुनसक्दछ,’ पक्राउ गरिनु अगाडी उनले भने, ‘आफुबाट गल्ती हुन पुग्यो । बढी पैसाँ लिएको फिर्ता दिनेछु ।’

ग्रिल तथा स्टील व्यवसायी संघ मोरङका सचिब बद्रि नारायण राजवंशीले स्वच्छ र मर्यादित रुपमा व्यवसायी संचालन गर्न आग्रह गरेका छन् । ‘उपभोक्ता ठगी गरिने जो कोही भएपनि कारवाहीको भागिदार बन्नुपर्दछ,’ उनले भने, ‘हामीले सबै व्यवसायीलाई स्वच्छ र मर्यादिदत व्यवसायी संचालन गर्न सुझाब दिएका छौं ।’ बढी नाफा कमाउने उद्देश्यले गैरकानुनी काग गर्दछन भने त्यस्ता व्यवसायी कारवाहीको भागिदार हुनुपर्ने उनको भनाई छ । सचिब राजवंशीका अनुसार न्यु आरोही ग्रील वर्कसप संघमा पनि दर्ता नभएको जानकारी दिए ।