पाँचथर । आफ्नै प्रेमिकाको हत्या गरेको आरोपपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५, (साबिक चाँगे गाविस–१) बस्ने वर्ष २६ का पवन आङबुहाङ भनिने कुमुकहाङ लिम्बू आङबुहाङलाई पाँचथर प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो । उनलाई बिशेष सूचनाको आधारमा प्रहरी सहायक निरिक्षक रघुनाथ राजवंशीको टोलीले काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका मुलपानीबाट लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ गरिएका आङबुहाङमाथि १० असोज २०६७ मा आफ्नै प्रेमिका, पाँचथरको फिदिम नगरपालिका–६, सिवा बस्ने २४ वर्षीया सुष्मा तुम्रोकको गोलि हानि हत्या गरेको आरोप छ । प्रहरीका अनुसार उनले सदरमुकाम फिदिमस्थित तुम्रोक होटल एण्ड लजको दोस्रो तलाको कोठामा सँगै बसेकी सुष्मालाई बिहान आठ बजे छातिको बाँया भागमा गोलि प्रहार गरेका थिए । त्यतिबेला उनी १७ वर्षका थिए । गोलि लागेकी सुष्माको तत्काल मृत्यु भएको थियो । प्रेमीकामाथि गोलि प्रहार गरेपछि आङबुहाङ फरार भएका थिए ।

लामो समयपछि पक्राउ परेका आङबुहाङलाई शुक्रबार साँझ पाँचथर ल्याइपु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरिक्षक डम्बर विश्वकर्माले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनी माथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरी निरिक्षक विश्वकर्माले बताए । 

घटनाको कारण प्रेम सम्बन्ध भए पनि हत्यासम्मै पुग्नुको रहस्य भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।