विराटनगर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम अलोकतान्त्रिक, असंबैधानिक र सर्वसत्ताबादी  भएकाले नसच्चिएसम्म नेपाली काँग्रेस कुनै हालतमा चुनाव जान नसक्ने बताएका छन् ।

 विराटनगरमा शनिबार संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता पौडेलले ओलीको कदम प्रतिगमनकारी भएकोले काँग्रेसले प्रस्ट रुपमा विघटित प्रतिनिधि सभा पुर्नस्थापनाका लागि संघर्ष थाल्ने बताए । ‘नेपाली काँग्रेस संबिधानले प्रदान गरेको कानूनको हक अनुसारको चुनावमा मात्र भाग लिने तर कसैले लहडमा गरेको राष्ट्रघाती कदमलाई साथ दिन चुनावमा जान सक्दैन,’ उनले भने, ‘पटक–पटक लहड र सनकका लागि अर्बौ खर्चेर चुनाव गराउदा देश झन गरिब हुन्छ ।’ उनले राजनैतिक अस्थिरतामा फस्ने भएकोले काँग्रेसले त्यस्तो कदमलाई  कदापी साथ दिन नसक्ने बताए । 

उनले संबिधानमा प्रस्ट रुपमा प्रतिनिधि सभा भत्काउन पाइदैन भनेर व्यवस्था गरेकाले काँग्रेसले पनि प्रतिनिधि सभा पुर्नस्थापनाका लागि संघर्षमा जाने निर्णय गरिसकेको बताए । 

नेता पौडेलले प्रम ओलीको असंबैधानिक निर्णय मान्न अदालत पनि बाध्य नभएकोले विघटित प्रतिनिधि सभा अदालतबाट पुनःस्थापपित हुने विश्वास व्यक्त्त गरे । उनले राष्ट्र जोगाउने अधार अब अदालत मात्र भएकोले आफुहरुले न्यायमुर्तिहरुमाथि पुर्ण विश्वास राखेर प्रतिक्षा गरिरहेको बताए ।  

उनले ओलीको अलोकतान्त्रिक निर्णय अदालतले सदर गरेमा नेपालमा लोकतान्त्रिक शासन प्रणाली नै समाप्त भएर जाने बताए । अदालतले प्रमको निर्णयलाई सदयर गरयो भने काँग्रेस चुनावमा जान्छ कि जादैन भन्ने पत्रकारहरुको प्रश्नमा  प्रतिप्रश्न गर्दै पौडेलले भने, ‘अदालतले आत्मघाती निर्णय सदर ग¥यो भने नेपालमा जसले जति बेला जे पनि गर्न सक्छन देश अफगानस्तान जस्तै हुन्छ यसैले जे पनि गर्न दिन जनताले भोट किन हाल्ने ?’