धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोध गर्दै धरानमा प्रदर्शन गरेको छ ।

धरानको छाताचोकबाट निस्किएको विरोध र्‍याली  धरान बजारमा प्रदर्शन गर्दै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा मोटरसाईकल  र्‍याली समेत निकालिएको थियो । 

भानुचोकको लोकतान्त्रिक चौतारीमा भएको कोणसभामा बोल्दै नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्ज भीम आचार्यले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनतामा जथाभावि कर बढाउँदा र गलत काम गर्दा त्यसो नगर्न पार्टीले सचेत गराएको तर त्यसैलाई ओलीले काम गर्न नदिएको भनेर प्रचार गरेको आरोप लगाए । उनले सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको भन्दै आफ्नो आलोचना सुन्न नसकेर संसद विघटन गरिएको बताए । कम्युनिष्ट सरकारले कालाबजारीहरुलाई फाइदा हुने गरी काम गरेकाले पार्टीले त्यसो नगर्न सचेत गराउँदा अहिलेको अवश्था आएको बताए । 

पार्टीका १ नं. प्रदेश कमिटी सदस्य मुक्साहाङ मेन्याङ्बो (मुकेश) ले ओलीले संवैधानिक कु गरेको आरोप लगाए । उनले कम्युनिष्टको आवरणमा ओली सरकारले जनघाती काम गरेको बताए ।

कोणसभामा बोल्दै १ नं. प्रदेश कमिटी सदस्य तथा सुनसरी जिल्ला सचिव रमेश बस्नेतले प्रधानमन्त्री ओलीले संविधान कुल्चिएर संसद विघटन गरेको बताए । कार्यक्रममा नेकपाका स्थानीय नेताहरु किरणकुमार राई, आईन्द्र विक्रम बेघा, प्रदेश सांसदहरु सावित्री श्रेष्ठ, उमिता बराईली लगायतका नेता कार्यकर्ता सहभागी थिए ।