भद्रपुर । लागूऔषध गाँजा मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल गाउँपालिका ३ बस्ने ३१ वर्षिय राजु ढकाल रहेका छन् । साविक तोपगाछी गाविस ७ बस्ने ढकालले आफ्नै घर कोठाभित्र बोरामा तीन किलो गाँजा लुकाई बेचबिखन गर्दै गरेको बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी २०७४बैशाख २० गते झापा जिल्ला अदालत भद्रपुरमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अदालतको फैसला अनुसार प्रतिवादीलाई एक वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना अदालतले तोकिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।  यसअघि २ महिना २६ दिन न्यायिक हिरासतमा बसेको र बाँकी कैद १ बर्ष ३ महिना ४ दिन बेरुजु देखिएको हुँदा फरार रहेका ढकाललाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले बुधबार आफ्नै घरबाट पक्राउ गरेको उनले बताए । फैसला कार्यान्वयनको लागि उनलाई कारागार पठाइएको उनले जानकारी दिए ।