भद्रपुर । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको संसद विघटनविरुद्ध नेपाली काँङ्ग्रेसले झापामा पनि विरोध प्रदर्शन तथा सभा सम्पन्न गरेको छ ।

काँङ्ग्रेस केन्द्रीय समितिको पुसा १९ को निर्देशन र नेपाली काँङ्ग्रेस झापाको पुस २१ गतेको निर्णयबमोजिम झापाका १५ वटा पालिकाका एकसय ३१ वटै वडामा वडास्तरीय विरोध प्रदर्शन गरिएको जनाएको छ ।

विरोध सभामा केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्लाका पदाधिकारी–सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय–प्रदेश क्षेत्रीय सभापति, गाउँ–नगर सभापति तथा जिल्लाले वडामा खटाएमा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । 

अधिकांश विरोध सभाका वक्ताहरुले संविधानमा संसद विघटनको प्रावधान नै उल्लेख नभएको बताउँदै प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमका विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका थिए ।

वर्तमान प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने प्रक्रिया नै नचाली संसद विघटन गरेपछि नेपाली कांग्रेससहितका दलहरु अहिले सडक संघर्षमा उत्रिएका छन् ।