विराटनगर ।  जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई  पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’  घोषित गरेको हो । 

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको कारणले सवोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

गत असोज १० गतेदेखि नायक मोरङ प्रहरी आएसँगै उनले अवैध मानिएको मिटरब्याजी धन्दामा लागेको गिरोह देखि अनलाइन ठगी र चोरीको सफल अनुसन्धान गर्दै आएका छन् । मिटरब्याजमा लगानी गरि सर्वसाधरणलाई ‘टाट’ पल्टाउने गिरोलाई पक्राउ गरि उनले अनुसन्धान गर्दै आएका छन् ।

मोरङ प्रहरीले मिटरब्याजीलाई पक्राउ गरि कानुनीय दायरमा ल्याउन थालेपछि विराटनगरमा बसेर अवैध धन्दा चलाउने कतिपय गिरोह फरार छन् ।  

यसअघि धनुषाको महेन्द्रनगर र रौतहटमा बसेर उनले जघन्य प्रकृतिका अपराधनको सफल अनुसन्धान गरेर प्रहरी संगठनको नियमित सरुवा भएर मोरङ आएका हुन् ।

रौतहटमा रहदा उनले हत्या आरोप लागेर जेल चलान भएका कांग्रेस सांसद आफ्ताब आलमको अनुसन्धान पनि उनले गरेका थिए । सफल अनुसन्धानमा आफुलाई स्थापित गरेका नायकले मोरङ रहदा पनि छुट्टै छाप छोडेर जाने प्रहरी संगठनले अपेक्षा राखेको छ । 

पप्पु आएसँगै मोरङमा भएको चोरी, अवैध लागु औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरीले सम्मान गरेको पत्रमा उल्लेखछ ।

आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेकोले उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै नायकलाई २०७७ साल पौष ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको प्रदेश प्रहरीले जनाएको छ । 

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।