विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रचण्ड–माधव समूहका तीन प्रदेश सांसद्ले आफ्नो तर्फबाट सो प्रस्ताव फिर्ता लिएका छन् ।

प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । उनीहरूले प्रस्ताब फिर्ता लिएको पत्र सोमबार प्रदेश सभा सचिवालयमा दिएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईबिरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको बताए । यसअघि प्रदेससभा सदस्य कला घले र बसन्तिदेवी यादवले मुख्यमन्त्री राई बिरुद्धको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका छन् । तर उनीहरुले औपचारिक रुपमा प्रदेशसभा सचिवालयमा पत्र भने दर्ता गराएका छैनन् । 

नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राई बिरुद्ध प्रदेशसभामा पौष १२ गते ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु मुख्यमन्त्री राईको कित्तामा आउने क्रम जारी छ । प्रचण्ड माधव समूहका रहेका पाँच संसद ओलीका समूहका मुख्यमन्त्रीको पक्षमा आएका छन् । 

अविश्वासको प्रस्ताव सफल बनाउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । तर नेकपाको ६७ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–माधव समूहमा अहिले खुलेका ३२ जना प्रदेशसभा सदस्य मात्रै देखिएका छन् । मुख्यमन्त्री राईसँग नेकपाका २९ जना प्रदेशसभा सदस्य रहेको दाबी गरिएको छ । ९ जना संसद दुवै तिर खुलेका छैनन । 

प्रदेशसभाका कूल ९३ सदस्यमध्ये नेकपाको ६७, कांग्रेसको २१, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १–१ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसको समर्थनबिना प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राई बिरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव प्रदेशसभा वैठकमा सफल बनाउन नसक्ने देखिएको छ ।