विराटनगर । गैरकानूनी मिटरब्याज धन्दा चलाएको आरोपमा विराटनगरमा अर्का मिटरब्याजी पक्राउ परेका छन् ।

८ लाख रूपैयाँ ऋण दिएर ७५ लाख रूपैयाँ असुल्न खोजेको आरोपमा मोरङको रंगेली नगरपालिका ६ मधुवनीका ५५ वर्षिय बिनोद मण्डल पक्राउ परेका हुन् । पूर्व शिक्षक मण्डललाई ठगी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मण्डल रंगेली रेडक्रस सोसाइटीको सभापति पनि छन् । उनलाई मिटरब्याजमा लगानी गरेर पैसा असुली गाउँका सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले ठगी मुद्दामा आइतबार पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीकका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । 

पक्राउ परेका मण्डलबाट अरु पनि ठगीमा परेको हुनसक्ने भएकोले प्रहरीले सबै तिरबाट अनुसन्धान अगाडी बढाएको छ । मण्डलले कति जनालाई कति ठगी गरे त्यो पछि अनुसन्धानबाट खुल्ने मोरङ प्रहरीले जनाएको छ ।

मण्डलले रंगेली ५ का श्याम नारायण मण्डललाई चार वर्षयतादेखि विभिन्न मितिमा जग्गा धितोमा राखेर ८ लाख रुपैयाँ ऋण दिएका थिए । श्याम नारायणले छोरीको नाममा रंगेलीको आपगाछीमा रहेको ३ बिघा जग्गा मण्डलको नाममा नामसारी गरेपछि २०७१  साउन १ गतेदेखि ०७५ चैत २८ गतेसम्म ८ लाख रुपैयाँ ऋण दिए । ऋणको ब्याजसहित फिर्ता गर्दापनि उनले जग्गा फिर्ता दिएनन् । ब्याजको स्याज जोडदा ८ लाखको ८० लाख भयो । ७५ लाख रुपैयाँ दिए मात्र जग्गा फिर्ता दिने अडान कसेपछि बाध्य भएर प्रहरीमा उजुरी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ । 

ठगी आरोपमा पक्राउ परेका मण्डललाई प्रहरीले पक्राउ गरेपछि मिलापत्र गराउन काँग्रेसको जिल्लादेखि केन्द्रीय नेताहरूले दबाव दिएको थियो । मोरङ प्रहरीले दबावको बिच ओरोपीलाई पक्राउ गरि म्याद गरि अनुसन्धान सुरु गरेको हो ।