विराटनगर/ जबरजस्ती करणी गरेपछि विभिन्न प्रलोभन देखाएर भारत बेच्न लगिएकी एक जना बालिकाको उद्धार गरिएको छ । 

तेह्रथुम घर भई धरानस्थित दिदीको घरमा बस्दै आएकी १४ वर्षीया एक बालिकालाई प्रहरी र साना हातहरू नेपाल नामक संस्थाले उद्धार गरेपछि जबरजस्ती करणी भएको घटना बाहिर आएको हो ।

प्रलोभन देखाएर बालिकालाई भारततर्फ बेच्न लाने र जबरजस्ती करणी गरेको आरोपमा धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय आशिष सुनारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख इन्स्पेक्टर दीपक थापाले जानकारी दिए । पहाडबाट धरान आएकी ती बालिका धरानस्थित दिदीको घरमा बस्दै आएकी थिइन् । दिदीको घरमा बस्ने क्रममा सुनारसँग ती बालिकाको चिनजान भएको थियो ।

‘पहाडकी सोझी बालिकालाई ललाई फकाई सुनवारले एक महिनाअगाडि घुमाउन भन्दै भेडेटार जाने सडकको भ्युप्वाइण्ट होटलमा लिएर गएका थिए । त्यसबेला मःम खुवाउने बहानामा नशालु पदार्थ खुवाएर सोही होटलमा करणी गरेको आरोप छ’ पीडित बालिकाले इप्रका रानीमा दिएको जाहेरीमा उल्लेख छ । सुनारले जबरजस्ती करणी गरेको पोल खुल्ने डरले ती बालिकलाई  भारत बेच्न लैजाने योजना बनाएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ ।

‘जबरजस्ती करणी गरेपछि पोल खुल्ने डरले ती बालिकालाई भारतको जोगवनीमा कपडा किनिदिने भन्दै २९ पुसमा लिएर जाने क्रममा विराटनगर–१६ स्थित नेपाल–भारतको सीमा नाका दरैया बस्तीदेखि सुनारलाई पक्राउ गरिएको हो’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विभिन्न प्रलोभन देखाई सुनारले ती बालिकालाई भारत पु¥याएर वेश्यावृत्तिमा लगाउने योजना बनाएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ ।’

पक्राउ परेका सुनारलाई इप्रका रानी विराटनगरले शुक्रबार मोरङ अदालतमा ‘मानव बेचबिखन’ मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्दै आएको छ । जबरजस्ती करणी गरेको घटनास्थल सुनसरी भएकोले मोरङ प्रहरीले मानव बेचबिखन मुद्दामा अनुसन्धान पूरा गरेपछि अभियोग सरकारी वकिलको कार्यालयमा पठाउनेछ । त्यसपछि सुनसरी प्रहरीले पनि पक्राउ परेका प्रतिवादीलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने बुझिएको छ ।