धनकुटा । गृहमन्त्री रामवहादुर थापा ‘बादल’ले संसद पुनःस्थापना भयो भने राजतन्त्र पुनःस्थापना हुने दाबी गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी ओली समूहले शनिवार धनकुटामा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुहमन्त्री थापाले यस्तो बताएका हुन् । राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नु पर्ने बेलामा प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको अवस्था आएको समेत मन्त्री बादलले आरोप लगाए । उनले राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लागि चुनावको विकल्प नरहेको समेत दाबी गरे । 

गृहमन्त्रि थापाले जनताको बिचमा संघिय गणतन्त्र नेपालको नारा लिएर जाने उल्लेख गर्दै संसद पुनःस्थापनाको नारा लिएर हिड्नेहरु पश्चगामी भएको आरोप लगाए । प्रधानमन्त्रिले राजनितिक ‘कु’ गर्ने षड्यन्त्र भएको थाहा पाएपछि संसद् विघटन गर्नु परेको समेत गृहमन्त्रि थापाले स्पष्टोक्ती दिए । प्रतिगमन  शक्तिले आफ्नो गुमेको शक्तिलाई पुनःस्थापना गर्न लागि रहेको उल्लेख गर्दै नेकपाको नेतृत्वले त्यसको पर्दाफास गर्दै जनआन्दोलनको उपलब्धीलाई रक्षा गर्न लाग्नु पर्ने बताए । 

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु राजेन्द्र गौतम, गोपाल गुरागाई, देवराज घिमिरे लगायतले सम्बोधन गरेका थिए । नेकपा धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख तथा नेकपाका नेता चिन्तन तामाङले स्वागत गरेका थिए । 

धनकुटा नगरपालिकाको वडा नं ७ मा रहेको त्रिवेणी माविको प्राङ्गगणमा सम्पन्न भएको कार्यक्रममा धनकुटा बहुमुखी पाठशालाका कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिएका थिए । गृहमन्त्रि थापाले संम्बोधन गर्ने कार्यक्रममा धनकुटाका गाउँगाउँबाट नेकपाका हजारौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । सो कार्यक्रममा नेकपाका आधा दर्जन केन्द्रिय नेतृत्वको उपस्थिती रहेको थियो ।