विजयपुर । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध नेपाली कांग्रेसले धरानमा मोटरसाइकल र्‍यालीसहित विरोधसभा गरेको छ । 

शनिबार नेपाली कांग्रेस धरानले आयोजना गरेको नारासहितको मोटरसाइकल र्‍याली पब्लिक हाइ स्कुलबाट शुरु भएर धरान–१२ पानीट्याङ्की, कल्याण चोक, रेल्वे, क्याम्प गेट, बरगाछी, श्यामचोक, सदनरोड, देशीलाइन, भानुचोक, छाता चोक हुँदै धरान उपमहानगरपालिका गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोधसभामा संवोधन गर्दै तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले कम्यूनिष्ट सरकार लोकतन्त्र विरोधि र प्रतिगामी भएको आरोप लगाए । कांग्रेस सुनसरीका जिल्ला सदस्य प्रेम लकान्द्रीले केपी ओलीले भागबण्डा नमिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । उनले आन्तरिक झगडाको कारण जनताले दुःख पाउनु परेको दाबी गरे । 

कांग्रेस सुनसरीकी जिल्ला सदस्य नीलकुमारी गिरी थापाले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त भएको बताइन् । नेपाली कांग्रेसका वडा नं.–२ का सभापति सुधिर लिम्बुले प्रधानमन्त्री केपी ओलीको सरकारले जनताको विश्वासमाथि कुठाराघात गरेको बताए । नेपाली कांग्रेसको राष्ट्रव्यापी कार्यक्रम अन्र्तगत ७ सय ५३ वटै स्थानीयतहहरुमाविरोध सभाको कार्यक्रम गरेको नेपाली कांग्रेसका धरानका सचिव युवराज शंकरले जानकारी दिए ।