विजयपुर । जनता समाज पार्टी नेपाल (जसपा) का बरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीले इतिहासमा कुनै प्रधानमन्त्रीले नगरेको भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

जसपाले शनिबार धरानमा आयोजना गरेको जनप्रर्दशन तथा विरोधसभालाई सम्बोधन गर्दै नेता राईले प्रधानमन्त्री ओलीले इतिहासमा कुनै प्रधानमन्त्रीले नगरेको भ्रष्टाचार गर्नुका साथै भ्रष्टचारी संरक्षण गरेको, अख्तियारलाई अनुसन्धान गर्न नदिने कार्यहरु गरेको आरोप लगाए । उनले ओलीले असाधारण काम गरेको भन्दै हिड्ने गरेको भन्दै त्यो असाधारण काम भनेको भ्रष्टाचार देखि प्रतिनिधिसभा विघटन गरी जनमतको अपमान गरेको बताए । उनले ब्यङ्ग्यात्मक शैलीमा भने, ‘ओम्नीकाण्ड, वाइडबडी लगायतका घट्नामा भ्रष्टाचारीलाई ढाकछोप गर्ने र ६ महिनामा १३ प्रतिशत मात्र विकास खर्च गरेर असाधारण काम गरेका छन् ।’ 

नेता राईले अन्य शक्तिको षड्यन्त्र र उक्साहटमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । राईले अन्य शक्तिको योजना र षड्यन्त्रमा प्रतिनिधिसभा विघटन भएकाले देश माथी खतरा रहेको पनि बताए । 

उनले नेपाली कांग्रेसलाई इङ्गित गर्दै भने, ‘कुनै–कुनै ठुला नेताहरुलाई ओलीको असंवैधानिक कदम केटाकटीलाई दशैँ आएजस्तो भएको छ । अनि तिनै ठुला नेता भन्दैछन् सर्वोच्चको निर्णय मान्छौँ,निर्वाचनमा जान्छौ ।’ उनले  कांग्रेसलाई अरु केहि नगरेपनि जनताको मनोवल बढाउने काम गर्न आग्रह गरे

उनले फरक सन्दर्भमा भने प्रचण्ड र माधव कम्रेड ‘हामीयहाँ छौँँ’ भनेर सडकमा पुग्नु भएछ । ठिकै हो उनीहरुको विचार पनि सडकमा पुग्ने जत्तिकै हो, उनले भने, । ओलीसँगको ३६ वर्षे सहयात्राको अनुभव बताउँदै एमाले–माओवादी एकता कांग्रेस विरुद्ध माओवादीलाई प्रयोग भएको बताए । मैले प्रचण्ड कम्रेडलाई त्यहि समय भनेको यस्तो अवस्था आउँछ भनेर मान्नु भएन् । अहिले ठिकै स्थानमा पुग्नु भएछ । 

जसपाका कार्यकारिणी सदस्य पर्शुराम खापुङले संविधान ध्वस्त हुनबाट बचाउन जसपा निरन्तर अभियानमा रहेको बताए । उनले ओलीले देशलाई दुर्घटना गराउन लागेकाले जसपाले जोगाउन लागेको बताए । उनले ओलीको राष्ट्रवाद खोक्रो भएको वताए । उनले भने, ‘९९ सय प्रतिशत गलत गरेकोले काम ‘०’ नम्बर दिन्छु तर, नक्कली कम्युनिष्ट भएर राष्ट्र चलाउन सफल भएकोले ‘१’नम्बर दिन्छु ।’ 

जनप्रर्दशन तथा विरोधसभाका संयोजक भीम राईको अध्यक्षतामा भएको कार्याक्रममा जसपाका कार्यकारिणी सदस्य रकम चेमजोङ, पर्शुराम बस्नेत, केन्द्रिय सदस्य , प्रदेश सभा सदस्य , प्रदेश स्तरका नेतालगायतको उपस्थिति रहेको थियो ।