विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले न्यायालयलाई धम्क्याउने गरेको आरोप लगाएका छन् ।

मोरङको रंगेली नगरपालिकाको आपतोलामा शनिबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता कोराईलाले यस्तो बताएका हुन् । ‘ओलीले चालेको असंवैधानिक निर्णयको विरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दा बिचाराधिनमा रहेको छ,’ उनले भने, ‘बिचाराधिन मुद्दालाई लिएर प्रधानमन्त्रीले स्वतन्त्र न्यायालयलाई आफनो प्रभावमा पार्न धम्क्याउने काम सुरू गर्नुभएको छ ।’  अहिलेको संविधानको कुनै पनि धारामा बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको भन्दै ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक र गैरराजैनितक भएको उनले बताए । 

‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ । त्यसैले प्रधानमन्त्रीजी सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्नुस्,’ उनले भने, ‘ यो बेला प्रधानमन्त्रीले सर्वोच्च अदालतको फैसला स्वीकार्न तयार छु भन्नुपर्ने हो । तर धम्कीको भाषा बोलिरहनुभएको छ ।’

प्रधानमन्त्रीको गलत क्रियाकलाप विरुद्ध पूर्व प्रधानन्यायधीशहरूले निकालेको विज्ञप्ती अहिलेको आवश्यकता भएको नेता कोराइलाले बताए । उनले पूर्व प्रधानन्यायीधहरूले स्वतन्त्र नागरिकको हैसियतले उनीहरूले बोल्न पाउने अधिकार भएको बताए । प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक, अराजनैतिक र अलोकतान्त्रिक भएकाले गलत निर्णय सर्वोच्च अदालतले सच्याउने उनले बताए । संसद पुनःस्थापना बाहेक अरु कुनै विकल्प नभएको नेता कोइरालाले बताए । 

प्रधानमन्त्री ओलीले आफू सर्वेसर्वा हुन प्रयत्न गरिरहँदा सबै कुरा सहँदै जानु कांग्रेसको सबभन्दा ठूलो गल्ती भएको उनले बताए । नेता कोइरालाले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संघीयता र गणतन्त्र विरोधी भएको पनि बताए । नेता कोइरालाले सर्वोच्च अदालतको फैसला स्वीकार्न काँग्रेस तयार भएको बताए ।