बेलबारी । नेपाली कांग्रेसले शनिबार  सरकार विरुद्ध देशभरका सबै स्थानीय तहहरुमा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत मोरङको बेलबारी नगरपालिकाको बाहुनी बजारमा भएको सभामा  पुर्व राज्यमन्त्री दिलिप गच्छदारले प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक भएको बताए ।

गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रबाद उदाङ्गो भएको बताएका छन् । मोरङको बाहुनी बजारमा आज नेपाली कांग्रेसले गरेको संसद विघटन असंबैधानिक कदमको विरोधसभालाई सम्बोधन गर्दै पुर्व राज्यमन्त्री समेत रहेका गच्छदारले प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद आम नेपाली जनताले अब बुझिसकेको बताएका हुन् ।

उनले नेपाली जनताको बलिदानबाट लेखिएको संविधान विपरित संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनतालाई धोका लिएको र त्यसका विरुद्धमा आन्दोलन गर्नु परेको उल्लेख गरे । कम्यूनिष्ट सरकार असफल भइसकेको बताउँदै नेपाली कांग्रेसबाट मात्रै परिवर्तन सम्भव रहेको उनले दाबी गरे ।