भद्रपुर । जिल्लामा बढ्दो लागूऔषध कारोबार र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँबाट भर्खरै सरुवा भएर झापा आएका एसपी भट्टराईले शुक्रबार झापाली पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् ।

जिल्लामा लागूऔषध र दुव्र्यशनीको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्कमा पाएको उनले जनाए ।

भारतीय सीमा बजारमा सहज रुपमा लागूऔषध खरिद गर्न पाउँदा यो समस्या बढ्दै गएको उनको भनाइ छ । २०६२ सालमा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा  इन्सपेक्टरमा कार्यरत हुँदा  जे थियो अहिले पनि त्यस्तै अवस्था रहेको उनको बुझाइ थियो । 

साथै सीमा नाका बन्द रहेको अवस्थामा भारतीय नम्बर प्लेटका सवारीसाधन खुलेआम सञ्चालनमा आइरहेकोले त्यसलाई रोक्न सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

सीमा नाकामा हुने अवैध चोरी निकासी तथा सवारी दुर्घटना न्यूनीकरण, मानव बेचबिखन रोकथाम, सामाजिक अपराध नियन्त्रण, सामुदायिक प्रहरीमार्फतको साझेदारी कार्यक्रमलाई फोकस गरेर कार्यान्वयन ल्याउने उनले प्रतिबद्धता जनाए ।

पत्रकार तथा सञ्चारमाध्यमलाई प्रदान गरिने सूचना एकद्धार प्रणालीबाट दिने र त्यसमा कसैलाई काखा र पाखा नगरिने उनको भनाई छ ।

प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले पत्रकारले हतारमा समाचार लेख्नु भन्दा पनि प्रहरीबाट घटनाको सत्य तथ्य बुझेर आधिकारिक सूचना जनतामाझ सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

पत्रकारलाई सूचना नदिँदा पनि आफ्नो नाम उल्लेख गरेर समाचार प्रकाशन गर्दा आफूलाई समस्यामा पार्न काम गरिएकोले त्यसो नगरिदिन उनले सबै पत्रकारलाई अनुरोध गरे ।

प्रहरीले दैनिक घटना विवरण इमेलबाट सबै पत्रकार र सञ्चारमाध्यमलाई एकैसाथ उपलब्ध गराउँदै आएकोले न बुझेका कुरा आफूलाई फोन गरेर सोध्न उनले आग्रह समेत गरे ।