देउराली । फोटो खिच्न बोलाएर क्यामेरा लगायत फोटोग्राफीका सामाग्री चोरी गर्ने पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  झापा जिल्लाको अर्जुनधारा नगरपालिका ६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

कार्यालयका अनुसार अनुपले पुस २५ गते विराटनगरमा भव्य फेसन सो भइरहेको र उक्त कार्यक्रमको फोटो खिच्नु पर्ने भन्दै पोखरा  महानगरपालिका २० नम्बर वडाका २८ वर्षीय विमल कार्कीलाई बोलाएका थिए ।

२४ गते ईसेवाबाट पेश्की स्वरुप ४ हजार समेत पढाएपछि विश्वास गरेर आएका कार्कीलाई अनुप र उनको सहयोगी बुढिगंगा गाउपालिका १ मा रहेको आरएन होटल एण्ड लज पुर्याएका थिए । 

कार्कीले ल्याएका फोटोग्राफीका सम्पूर्ण सामानलाई लजको कोठा नम्बर ११४ मा राख्न लगाइ ढकालले खाना खानकालागी भन्दै कार्कीलाई इटहरी स्थति प्राइम होटलमा पुर्याएका थिए । 

तर, कार्कीलाई इटहरी स्थित हाेटलमै  छाडी पुन: कार्कीले सामाग्री राखेकाे काेठामा फर्कीएका ढकाल कार्कीले  ल्याएको फोटोग्राफीका साम्पूर्ण सामाग्रीहरु चोरी गरेर  फरार भएका थिए । 

घटनाको जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यलय मोरङबाट खोजतलासमा जुटेको प्रहरी टोलीले बिहिबार ढकाललाई उनकै घरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक मान बहादुर राईले बताएका छन् । 

प्रवक्ता राईले उक्त चोरीमा ढकालाई सहयाेग गर्ने सोही स्थानका २० वर्षीय साराम्स भट्टराईलाई पनि पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका उनीहरुको साथबाट चोरी गरि लगेको क्यामकेरा लाईट व्याट्री ५ थान, चार्ज गर्न मिल्ने व्याट्री ६ सेट, मेमोरी कार्ड ६ थान, माइक २ थान, पावर बैंक ३ थान ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, ल्यापटप १ थान,, क्यामरा ३ थान, लाईट १ थान र झोला ७ थान बरामद भएको राईले बताउका छन् ।

राईका अनुसार पक्राउ परेका उनिहरुलाई चोरी कसुरमा थप अनुसन्धान भईरहको छ  ।