धरान । दश कक्षा पढेका धनुषाका एक व्यक्तिले आफू साहित्यमा विद्यावारिधि गरेको भन्दै सुनसरीको इनरुवामा मात्रै करिब १२ सयजना ठगी गरेका छन् । 

क्यानडास्थित टोरन्टो विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेको भनी ठगी गर्ने धनुषा गणेशमान चारथान नगरपालिका ८ का ४७ वर्षीय रामवली दनुवारलाई पक्राउ गरिएको हो । उनले सीप सिकाउने बाहानामा ११ सय ९७ जनालाई ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 


इनरुवा १ बजारमा उनले सीप परीक्षणसम्बन्धी शाखा कार्यालयमार्फत् सर्वसाधारण ठगी गरेका थिए । उक्त सीप परीक्षणको प्रधान कार्यालय प्रदेश ५ को रुपन्देहीको भैरहवामा रहेको छ । सरस्वती सिलाइ प्रशिक्षण केन्द्र नामको शाखा कार्यालय खोलेर सर्वसाधारण ठगी गर्दै आएका थिए । उनले डा. रामवली कुमार सिंह नाम भएको बताउने गरेका थिए । 

प्रशिक्षण गराउनका लागि उनले ३७ जना कर्मचारी पनि नियुक्त गरेका थिए । फिल्ड कर्मचारीदेखि विभिन्न पदका व्यक्तिहरूलाई कर्मचारी नियुक्त गरे पनि तलब दिएका थिएनन् । ११ हजार रुपैयाँदेखि ५४ हजार रुपैयाँसम्म तलब दिने आश्वासन दिएको प्रहरीले जनाएको छ । उनले सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीमा शाखा कार्यालय खोलेको बताउने गरेका थिए । प्रधान कार्यालय भैरहवामा ५९११ दर्ता नम्बर रहे पनि प्रहरीले अनुसन्धानका क्रममा यो नम्बरमा कुनै पनि संस्था दर्ता नभएको खुलाएको छ । 

सर्वसाधारणलाई प्रशिक्षण लिन आएबापत १ सय रुपैयाँ दस्तुर र राहत कोषमा दिनुपर्ने भन्दै प्रतिव्यक्ति १ हजार रुपैयाँ लिँदै आएका थिए । आफूलाई कम्पनीको महानिर्देशक बताउने उनले १ लाख डलर मासिक पारिश्रमिक लिने गरेको सर्वसाधारणलाई बताउँदै झुक्यानमा पार्ने गरेको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जनाएको छ । 

प्रहरीले इनरुवा १ मा भाडा लिएर सञ्चालनमा ल्याएको शाखा कार्यालयमा छापा मार्दा कम्पनीको लेटरप्याड, छाप, विभिन्न व्यक्तिको नागरिकताको छायाप्रति (फोटोकपी), स्ट्याम्पलगायत सामग्री बरामद गरेको छ । दनुवारलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । प्रहरीका अनुसार अनुसन्धानबाट अन्य ठगिएको पनि हुनसक्ने अनुमान गरिएको छ । 

उनले क्यानडाको तिलिजा रोबर्ट नामक संस्थासँग समन्वय गरी प्रशिक्षण समूह निर्माण गर्ने, सिलाइबुनाइ, मैनबत्ती बनाउने, साबुन बनाउने प्रशिक्षण दिने बताउँदै ठगी गर्दै आएका थिए ।