बिर्तामोड । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रकम चेम्जोङले बैशाखमा चुनाव नहुने दावी गरेका छन् । पार्टीले झापाको बिर्तामोडमा बुधबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै चेम्जोङले प्रधानमन्त्री केपी ओलीले चुनाव गर्नका लागि मिति तोकेको भ्रममा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री केपी ओली संघीयता, धर्मनिरपेक्षताको चरम बिरोधी भएको आरोप लगाउँदै चेम्जोङले जनताको अधिकारमाथि आक्रमण गर्ने उद्देश्यले पुष ५ गतेको कदम चालेको बताए । ओलीको संविधानमाथिको प्रहारले त्यसका आधारभुत मर्मको घाँटी निमोठेको उनले बताए । २०१७ पुष १ गते राजा महेन्द्रले जस्तै पुष ५ गते केपीले कु गरेको आरोप उनले लगाए ।

‘जसपाको संविधानमा थुप्रै बिमती छ, तर संविधानको घाँटी निमोठेको हेर्न सक्दैनौ, चेम्जोङले भने–‘ संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरियो भने मुलुक कहाँ जाला ?उनले ओलीकाे कदम असंवैधानिक कु भएको जिकिर गरे । बिदेशी पत्रकारहरलाई प्रायाेजित अन्तर्वार्ता दिएर राष्ट्रवादि बनेका ओली के हो भनेर नेपालका जनतालाई थाहा भएको भनाई उनको थियो ।

पार्टीका अर्का केन्द्रिय सदस्य डम्बर खतिवडाले केपी चुनाव गराउन प्रतिनिधिसभा बिघटन गरेको भन्दा हास्यास्पद तर्क अर्काे नहुने बताए । ‘मलाई अल्छि लाग्यो, घाँडो लाग्यो भनेर संसद बिघटन हुन्छ ? खतिवडाले प्रश्न गर्दै भने–‘ संविधान नबुझेका ओलीलाई नेपाली पढ्न सिकाउनु पर्छ ।’

नेकपा भित्रको झगडाका कारण संसद बिघटन गर्न नपाइने उनले बताए । ‘तीन करोड जनताको पार्टी होईन । घर झगडा भयो । गाँउमा आगो लगाउनु ? कसैको रिसरागमा देशलाई अस्तब्यस्त बनाउन पाइदैन, खतिवडाले भने–‘ओली, बिद्याको बहिर्गमन तीन महिना हो । उनीहरु सत्ताच्युत हुन्छन ।’

केन्द्रिय सदस्य मनिष सुमनले ओलीमुक्त नेपाल बनाउनु पर्ने बताए । दलको झगडामा साथ दिने राष्ट्रपति बिद्या भण्डारीलाई बर्खास्त गर्नुपर्ने धारणा उनको थियो । ओलीले संविधानलाई कुरान, गिता, बाईबल, रामायण जस्तो अपरिवर्तनीय बनाउने प्रयास गरेको भन्दै उनले संविधान संसोधन गर्नुपर्ने बताए ।

‘संविधानमा संसद बिघटन गर्ने अधिकार छैन । घर झगडाको कारण संविधान बिघटन गर्ने षडयन्त्र भयो । हामी किन संविधानको पक्षमा हो भने लोकतन्त्र रहे हामी संविधान संसोधन गर्न सक्छौ ।’ उनले भने–‘नेपाली काङग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेका कारण सत्तापक्ष छाडा भएको हो ।’ ओली अर्कमन्य भएका कारण आज देश दुर्घटनामा गएको उनले बताए ।  नेकपामा अहिले झण्डा, नाम र चुनाव चिन्हको गलफत्ती भइरहेको बताउँदै उनले भने–‘अस्त भैसकेको सुर्यको के महत्व ।’

कार्यक्रममा सांसल राधा थापा, केन्द्रिय सदस्य जितेन्द्र ताजपुरिया, नित्यानन्द ताजपुरिया, बिश्वनाथ राजवंशी झापा अध्यक्ष दिपेनवाला राई लगायतले धारणा राखेका थिए ।