विराटनगर ।  विराटनगर – ९ घोघापुल चौकका ३२ वर्षिय एजाज अहमदसँग मिलेर मिटरब्याजमा लगानी गरेको पैसाँ उठाउनेहरू फरार भएका छन् । मोरङ प्रहरीले एजाजलाई पक्राउ गरेपछि उनका तीन जना साथीहरू फरार भएका हुन् । 

विराटनगरका ९ का ३५ वर्षिय तनवीर खान, सोही ठाउँका ३५ वर्षिय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षिय सावन दास फरार छन् । उनीहरूले एजाजमार्फत मिटरब्याजमा पैसा लगाउने र लगाएको पैसाँ असुल्न यातनासम्म दिने गरेको आरोप छ । 

फरार भएका उनीहरूलाई प्रहरीले खोजी कार्य तिव्र बनाएको छ । एजाज पक्राउ परेपछि उनीहरू भारततर्फ फरार भएको सुरक्षा स्रोतको भनाई छ । फरार भएका खान, शेख र दास अदालतमा अभियोग दर्ता भएपछि उपस्थित हुने तयारी गरेको बुझिएको छ । 

६ पुसमा पक्राउ परेका मिटरब्याजी एजाजको प्रहरीले अनुसन्धान पूरा गरेकोले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

बुधबार प्रहरीले सरकारी वविकलको कार्यालय मार्फत एजाजसहित फरार भएका तीन जनारलाई फरार प्रतिवादी बनाएर चार जना विरूद्ध ‘अपराधिक लाभ लिएको’ मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरिने तयारी गरिएको छ ।

‘हामीले अनुसन्धान पूरा गरि अनुसन्धान प्रतिवेदन सरकारी वविकलको कार्यालयमा बुझाइ सकेका छौं,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘पक्राउ परेका र अन्य तीन जनालाई फरार प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता हुनेछ ।’

यसरी असुल्न खोजेका थिए, १ करोड १० लाख 

एक वर्ष अगाडी विराटनगर – १५ रानीका ३२ वर्षिय रामकिशोर ठाकुरले एजाजको समूहसँग १५ लाख रुपैयाँ ऋण लिएका थिए । दुई लाख रुपैयाँ थपेर ब्याज सँवा ब्याज गरी १७ लाख रुपैयाँ फिर्ता गर्ने मौखिक सहमति दुबैबीच भएको थियो ।

तर, लिखित सहमतिमा एजाजले ठाकुरलाई परिबन्धनमा पारे । एजाजले हामी ‘साथीभाइ हो, १७ लाख तिरे हुन्छ’ भनी ४५ लाखको तमसुक गराए । वर्ष दिनमा ठाकुरले एजाजलाई पैसाँ र सुन गरेर १७ लाख रुपैयाँ ऋण बुझाइसकेको थिए । तर, समयमा ऋण नतिरेको भन्दै एजाजले लकडाउन यता दबाद लिन दिन थाले ।

ठाकुर विराट मेडिकल कलेजमा सम्र्पकमा आएका विद्यार्थी पुर्याउने काम गर्दै आएका थिए । ‘१५ लाख लिएको ऋण १७ लाख तिरसकेको थिए । थप ६० लाख चाहिन्छ भनेर मलाई दबाब दिन थाले,’ ठाकुरले भने, ‘त्यत्रो पैसाँ मैले कहाँबाट ल्याउन सक्थेँ ।’ 

यही विषयमा छलफल गर्न भन्दै एजाजले मंसिर २५ गते ठाकुरलाई रोडशेष चौकमा बोलाए । ‘रोडशेष चौकमा आइपुग्दा एजाजसहित तनवीर खान, फाकिरा शेख र सावन दासले अपहरण शैलीमा बां १८ च ८९९५ नम्बरको कारमा राखियो । कारमा राखेर दिनभरी विराटनगर घुमाए ।

६० लाख रुपैयाँ बुझाउन दबाद दिइरहे । यत्रो पैसाँ आफुसँग नभएको जानकारी गराएपछि साथमा भएको २ लाख रुपैयाँ गाडी भित्रबाट खोसे,’ ठाकुरले दिएको जाहेरीमा उल्लेख छ ।

त्यसपछि ठाकुरको खाता रहेको कामना विकास बैंकको चेकमा १ करोड दस लाख रुपैयाँको दुई वटा चेक बनाएर हस्ताक्षर गराए । ठाकुरका अनुसार पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर सही गर्न लगाएर एजाजको समूहले साझ ६ बजे देवकोटा चोकमा छोडिदिए ।

‘उल्लेखित मितिमा बैंकमा पैसा नहाले ठिक नहुने, मार्छु, काट्छु, छप्काउँछु भनेपछि म न बाँच्नु न मर्नु जस्तो भएँ,’ ठाकुरले भने, ‘त्यसपछि ज्यानको बाजी थापेरै भए पनि प्रहरीमा उजुरी गर्न बाध्य भएँ ।’ उजुरी परेको पाँच दिनपछि एजाजलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

एजाजको समूहले ठाकुरबाट लिएको उक्त चेक प्रहरीले फेला पारेको छैन । सो चेक फाकिरा शेखले बोकेर फरार भएको स्रोतले जानकारी दिएको छ । 

यसअघि प्रहरीले मिटरब्याजी विराटनगर–९ घोघापुल चौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पक्राउ गरेको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।

मन्टुले मिटरब्याजबाट ५० करोडभन्दा बढी असुली गरेको खुलिसकेको छ । मन्टुबाट पीडित भएका विराटनगर, मोरङको धनपालथान, जहदा गाउँपालिका, रङ्गेली र रतुवामाई नगरपालिकाका १६ जनाले प्रहरीमा जाहेरी दिएका छन् । मन्टु पक्राउ परेपछि एजाज पक्राउ परेका थिए ।