विराटनगर/गैरकानूनी मानिएको मिटरब्याजमा ऋण दिएर सर्वसाधारणलाई उठिबास लगाउने विराटनगरका कुख्यात मिटरब्याजी ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियारले मृत्यु भएका बाबुको हस्ताक्षर कीर्ते गरेर वार्षिक लाखौं रूपैयाँ राजस्व छली गरेको पाइएको छ ।

विराटनगर महानगरपालिका–९ घोघापुल चौकको तीन तलाको घर अस्पताललाई भाडामा दिन तीन वर्षअगाडि मृत्यु भइसकेका बाबु जमुनाप्रसाद रौनियारको हस्ताक्षर कीर्ते गरेर वार्षिक १ लाख ३२ हजार रूपैयाँ घरबहाल कर छली गरेको पाइएको हो । बाबुको कीर्ते हस्ताक्षर गरी मन्टुले मासिक ४० हजार रूपैयाँमा ‘जनरल अस्पताल तथा न्यू ट्रमा सेण्टर प्रालि’ का सञ्चालकहरूसँग एकलौटी घरभाडा सम्झौता गरेका छन् ।

सम्झौता पत्रमा ४० हजार रूपैयाँ भाडामा लगाएको उल्लेख भए पनि मन्टुले मासिक अस्पतालसँग १ लाख ५० हजार रूपैयाँ घरभाडा बापत लिने गरेका छन् । सम्झौता पत्रमा घर भाडामा लगाएको १ लाख १० हजार रुपैयाँ रकम कम देखाएर वार्षिक १ लाख ३२ हजार रुपैयाँ घरबहाल कर छली गर्दै आएका हुन् । सम्झौता भएको रकमको १० प्रतिशत घरबहाल कर राजस्व कार्यालयमा बुझाउनु पर्ने हुन्छ । तर, मन्टुले सम्झौता पत्रमा उल्लेख भएअनुसारको ४० हजारको ४ हजार मात्र कर कार्यालयमा बुझाएर मासिक ११ हजार रुपैयाँ रजस्व छली गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता भएको विवरण अनुसार मिटरब्याजी रौनियारले मरिसकेका बाबुको हस्ताक्षर कीर्ते गरेर १ फागुन २०७५ मा अस्पताल सञ्चालकहरूसँग एकलौटी घरभाडा सम्झौता गरेको पाइएको छ । घरभाडा सम्झौता कहिलेसम्मका लागि भन्ने समय भने खुलाइएको छैन । बाबुको नाममा रहेको घोघापुल चौकस्थित घरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

विराटनगर–९ नम्बर वडा कार्यालयमा दर्ता भएको विवरणअनुसार सञ्जयका बुबा जमुनाप्रसादको २१ साउन २०७४ मा मृत्यु भएको थियो । दाजुभाइको अंश लाग्ने उक्त घरमा जेठा छोरा मन्टुले एकलौटी सम्झौता गरेर भाडामा लगाएका हुन् । जमुनाप्रसादका दुई छोरा हुन् । जेठा मन्टुविरूद्ध कान्छा भाइ राजुले मोरङ अदालतमा दायर गरेको अंश मुद्दा विचाराधीन छ । तर, अंश मुद्दा अदालतमा विचराधीन रहेकै समयमा बिना सहमति जेठा छोराको नाताले सञ्जयले विराटनगर महानगरको ९ नम्बर वडा कार्यालयमा आफ्नै घरवहालको सम्झौता पेश गरेर अस्पताल सञ्चालनको अनुमति दिलाएका छन् ।

विराटनगर घोघापुल चौकमा स्वर्गीय जमुनाप्रसादको नाममा नयाँ र उनकी श्रीमतीको नाममा पुरानो घर छ । दुवै घर दुई भाइको नाममा अंश भाग हुनुपर्ने भए पनि जेठो भएको धाक लगाउँदै उनले एक मात्र भाइलाई अंशबाट बञ्चित गराउन खोजेका हुन् । शिक्षण पेशा गर्ने उनका भाइ भाडाको घरमा विराटनगरमा बस्दै आएका छन् ।

१२ वर्षदेखि झुठो कपाली तमसुक बनाएर मिटर ब्याजको गैरकानूनी धन्दा चलाएर अकुत सम्पत्ति आर्जन गरेको आरोपमा पीडितहरूले किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले मन्टुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मन्टु विरूद्ध १६ जनाभन्दा बढीले उजुरी दिएपछि २९ मङ्सिरमा घरदेखि प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गर्दै आएको हो । प्रहरीको अनुसन्धानका क्रममा उनकी श्रीमती ज्योति रौनियार र मिटरब्याजी सञ्जयका नाममा जिल्ला मातपोत कार्यालयमा ६० बढी कित्ता जग्गा एकलौटी राजीनामा पास भएको फेला परेको छ ।

यसैगरी उनीहरूले दर्जनौं मानिसलाई अदालतमा लेनदेन मुद्दा दायर गरेको पाइएको छ । पीडितहरूले सम्पत्ति शुद्धीकरण विभागमा दिएको उजुरीअनुसार मिटर ब्याजबाट सञ्जयले ५० करोड बढी असुलिसकेको र पचासौं तोला सुन–चाँदी जम्मा गरिसकेको आरोप लगाएका छन् । विहार ससुराली भएका सञ्जयले गैरकानूनी रूपले कमाएको रकम भारतमा लगेर लुकाएको आरोप पनि पीडितहरूको छ । यसबाहेक विराटनगरका विभिन्न व्यापारीहरूलाई लाखौं रुपैयाँ ऋण दिएको र विभिन्न कम्पनीमा शेयर लगानी गरेको पनि सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गराएको उजुरीमा उल्लेख छ ।

मोरङको धनपालथानका पूर्व बासिन्दा सञ्जयले आफू सहरमा बसे पनि झुठो कपाली तमसुक बनाएर घरजग्गा राजीनामा पास गराएर धेरै जसो सोझासिधा गाउँलेहरूलाई ऋण दिने गरेका थिए । ऋण दिएपछि उनले वर्षौंसम्म तेब्बर–चौब्बर असुलेर ऋणीहरूमाथि चर्को शोषण गर्दै आएका थिए ।

montu-house