विराटनगर/ गैरकानूनी मानिएको मिटरब्याजमा लगानी गरेको आरोपमा पक्राउ परेका विराटनगर–९ घोघापुलचौकका मन्टु उपनामले चिरपरिचत ४५ वर्षीय सञ्जयप्रसाद रौनियारले सर्वसाधारणबाट करोडौं रूपैयाँ असुली गरेको खुलेको छ ।

समाजमा परम्परागत रूपमा चल्दै आएको सामन्तीप्रथा अनुसार साहु महाजन बनेर एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकैपटक असुल्ने मन्टुले ५० करोड बढी रकम सर्वसाधारणबाट असुलेको खुलेको हो ।

एक दशकदेखि गलत नियतले ऋण दिएर गाउँका सोझासिधा सर्वसाधारणलाई ऋणी बनाएर मिटरब्याजको धन्दा चलाउने मन्टु र उनको श्रीमती ज्योति रौनियारको नाममा करोडौं मूल्य बराबरको ६० कित्ता जग्गा रहेको देखिएको छ । हालसम्म सर्वसाधारणको ४० कित्ता जग्गा सञ्जयको नाममा देखिएको छ । यस्तै उनकी श्रीमती ज्योति रौनियारको नाममा २० कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ ।

गैरकानूनी ढङ्गले अकुत सम्पत्ति आर्जन गरेको र मिटरब्याजमा लगानी गरी मोरङका ग्रामीणक्षेत्रका सर्वसाधारणलाई ‘टाट’ पल्टाएपछि तीन जनाले २०७७ मङ्सिर ७ गते रौनियार विरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन् । विभागमा दर्ता भएको २१३१ नम्बरको उजुरीमा ०७० सालयता रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको उल्लेख छ ।

मिटर ब्याजबापत करिब ५० करोड रुपैयाँ उनले आर्जन गरेको पनि उजुरीमा उल्लेख छ । यस्तै उजुरीअनुसार विराटनगरका विभिन्न व्यापारीलाई हालसम्म करिब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अवैध आर्जनबापतको रकम भारत साहिरागञ्ज टावरचोक मुजफ्फरपुरस्थित ससुरालीमा पु¥याएर लुकाएको पनि उजुरीमा उल्लेख छ । ‘रौनियारको घरमा गैरकानूनी ढङ्गले आर्जन गरेको १० केजीभन्दा बढी सुन तथा ५० केजीभन्दा बढी चाँदी रहेको अवस्था छ । विभिन्न कम्पनीमा करोडौं रुपैयाँ बराबरको शेयर रकम रहेको छ’ सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गरेको उजुरी पत्रमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण विभागमा मोरङ धनपालथान गाउँपालिका–१ का ३१ वर्षीय मञ्जर हुुसेन, सोही गाउँपालिकाका २८ वर्षीय नुरूल मियाँ र सुनवर्षी नगरपालिका–४ का २८ वर्षीय अमितकुमार यादवले मिटरब्याजी मन्टुविरूद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा १३ बमोजिम लिखित उजुरी दर्ता गराएका हुन् । उनीहरूले विभागमा उजुरी दर्ता गरेपछि मोरङ प्रहरीमा जाहेरी दिएका थिए ।

मन्टुसँग ऋण लिएर साँवाभन्दा बढी पैसा तिरिसक्दा पनि धितो फिर्ता नगरेको भन्दै उजुरी परेपछि मोरङ प्रहरीले मङ्सिर २९ गते उनलाई घरबाटै पक्राउ गरेको थियो । प्रहरीले मिटरब्याजी मन्टुलाई पक्राउ गरेपछि मोरङ प्रहरीमा उजुरी दिनेको सङ्ख्या पनि बढेको छ । मिटरब्याजमा लगानी गर्ने मन्टुले २ लाख रूपैयाँ ऋण दिएर ३६ लाख रूपैयाँसम्म असुली गर्ने गरेको पाइएको छ । मन्टुलाई प्रहरीले म्याद थप गरी अनुसन्धान गर्दै आएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

मिटरब्याजी मन्टुबाट सय बढी सर्वसाधारण पीडित रहेको मन्जिर हुसेनले बताएका छन् । मन्टुसँग मोरङको धनपालथान, जहदा, रङ्गेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका बासिन्दाले वैदेशिक रोजगारी र घरायसी समस्या पर्दा ऋण लिने गर्थे । तर, मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् । मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेण्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठाउन एजेण्ट गाउँमा खटाउने गरेका थिए ।

3j 1j 2j