दमक/ पूर्वको व्यस्त नगरमध्ये झापाको दमक नगरक्षेत्रमा खेलकुदकै लागि भनेर छुट्टै खेलमैदान नभएपछि चुलाचुली खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको स्पोर्ट्स कम्प्लेक्स (रङ्गशाला) बनाउने तयारी सुरु भएको छ ।

दमक नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने हम्से–दुम्से सामुदायिक वनक्षेत्रभित्र रहेको १४ बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण गर्ने तयारी भएको हो । दमक–३ का वडाध्यक्ष नवीन बरालका अनुसार जिल्लामै बढी खेलाडी उत्पादन हुने क्षेत्र भएकाले पनि खेलमैदान आवश्यक भएकाले रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाएको हो । उनले भने, ‘प्रधानमन्त्रीको चाहना भएकाले पनि यहाँ रङ्गशाला निर्माण हुनेमा विश्वस्त भएका छौं । यसले दमक नगर वा झापाको र प्रदेश १ को मात्र होइन, समग्र देशकै गौरव बढाउने रङ्गशाला निर्माणमा जुटेका छौं ।’

वडाध्यक्ष बलालले हम्से–दुम्से सामुदायिक वनबाट जग्गा प्राप्ति भएपछि रङ्गशाला निर्माणका लागि आवश्यक विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने पनि बताए । सामुदायिक वनले उक्त जग्गामा खेलमैदान निर्माण गर्नका लागि दिने भनेर सिफारिस पत्र पनि बनाइसकेको छ ।

सिफारिस पत्रका आधारमा दमक नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर मन्त्रिपरिषद्मा पेश गरेर त्यहाँबाट पास भएर आएपछि जग्गा प्राप्तिको औपचारिकता पूरा हुने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए । उनले भने, ‘आवश्यक प्रक्रिया सुरु भइसकेको छ, जग्गा प्राप्ति भएपछि यहाँ स्थानीयको माग र चाहना अनुरूपको संरचना बनाउन डीपीआर बनाउने योजना छ ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले ठाउँ र भूगोल हेर्दा उक्त क्षेत्रमा खेलमैदान मात्र नभएर, तालिम केन्द्र, खेलकुद सम्बन्धीका सबैथोक एकैठाउँमा सञ्चालन गर्न सकिने स्पोर्ट्स कम्प्लेक्स निर्माणसमेत गर्न सकिने बताए ।

केही साताअघि झापामा मन्त्रालय अन्तर्गतका योजनाहरूको कामको प्रगतिको अवस्था अवलोकन गर्न आएका बेला सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले जग्गाको क्षेत्रफल, भौगोलिक अवस्था सबै हेर्दा उक्त स्थलमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउन उपयुक्त रहेको बताएका थिए । उनले सोहीअनुसारको बजेटको व्यवस्था गराएर तत्कालै काम सुरु गराउने प्रतिबद्धता व्यक्त गरे ।

दमकमा आयोजना हुँदै आएका दमक गोल्ड कप र अन्य खेल दमक क्याम्पस र सरस्वती माध्यमिक विद्यालयको मैदानमा सञ्चालन हुँदै आएका छन् । तर, विद्यालय वा क्याम्पसको खेलमैदान प्रयोग गर्दा पठन–पाठन प्रभावित हुने गरेको छ । खेलाडीहरू पनि नियमित अभ्यास गर्नबाट बञ्चित हुँदै आएका छन् । स्थानीय खेलप्रेमी युवा विवेक कुँवरले भने, ‘दमकमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनेमा खेल अभ्यास गर्न टाढा जानु पर्दैन । अभ्यास राम्रो भएमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न समेत सहज हुन्छ ।’ उनले दमक पूर्व लखनपुरमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणको काम पनि नामको विवादले योजना नै अलपत्र बनेको दृष्टान्तलाई ध्यानमा राखेर हम्से–दुम्सेमा बन्ने भनिएको रङ्गशालामा भविष्यमा आउन सक्ने विवाद र समस्याको पूर्वानुमान गरी विवादरहित तरिकाले अगाडि बढ्नुपर्ने बताए ।