पथरी/ ग्रामीणक्षेत्रको हिसाबले नेपालमै पहिलो पटक मोरङको पथरीशनिश्चरे नगरपालिकामा नगरस्तरीय प्रिमियर लिग प्रतियोगिता हुने भएको छ ।

पथरीमा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले बिहीबार पत्रकार सम्मेलनको अयोजना गरी नगरस्तरीय प्रिमियर लिग हुने बारे सार्वजनिक गरेको थियो । पथरीमा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटीको आयोजनामा हुन लागेको लिग मङ्सिरको दोस्रो साता देखि गर्ने तयारी गरेको छ । यस खेलमा विजेता टिमले १ लाख ७५ हजार र उपविजेता टिमले ७५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र पाउने आयोजकले जनाएको छ ।

प्रिमियम फुटबल लिगमा पथरीका ८ वटा क्लबले भाग लिएका छन् । प्रतियोगितामा पथरिशनिश्चरे नगरभित्रका हाईवे फुटबल क्लब, देवीगञ्ज फुटबल क्लब, वाईजीएफटी क्लब, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुटबल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरी जम्मा आठवटा क्लब सहभागी हुने आयोजक समितिका सचिव मनी लुम्फुङ्वा लिम्बूले बताए । लिग प्रतियोगितामा सहभागी क्लबले नगद १० हजार शुल्क खेल आयोजकलाई बुझाउनु पर्नेछ । प्रतियोगितामा १२ लाख खर्च हुने आयोजक कमिटीका अध्यक्ष सञ्जीव गिरीले बताए ।

८ वटा टिममा १८ जनाको दरले १ सय ४४ जना खेलाडी छनौट हुँदै व्यवसायी पनि बन्ने भएको हो । एउटा क्लबले सबै खेलमा पराजित हुँदै गए पनि खेल अवधिभर ३ पटक खेल्न पाउनेछन् । खेलमा बेस्ट गोल रक्षक, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, बेस्ट फरवार्ड, बेस्ट प्लेयर, बेस्ट कोच र बेस्ट गोलकर्तालाई पनि ५ हजारको दरले पुरस्कृत गर्ने जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने भएको छ । खेल १५ दिन चल्नेछ । पालिका क्षेत्रभित्रका खेलाडीहरूलाई व्यावसायिक बनाउँदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले मोफसलमा पहिलो पटक प्रिमियर लिगको आयोजना गरेको आयोजक बताउँछ । पथरीमा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले धेरै मेहनतका साथ सूक्ष्म अध्ययन गरी खेलको तयारी गरेको छ । खेल खेल्न चाहने इच्छुक खेलाडीहरूको लागि नगरको १० वटै वडामा फारम भराएको थियो । १० वटा वडाबाट ३ सय ५० जना खेलाडीले फारम भरेका थिए ।

प्रतियोगितामा प्रत्येक क्लबले मार्कि खेलाडीसहित १८ जना खेलाडी छनौट गर्नु पर्नेछ । आयोजकले प्रत्येक खेलाडीको मूल्य ३ हजारदेखि ८ हजारसम्म राखिदिएको छ । यसअघि प्रत्येक क्लबले एक जना मार्कि खेलाडी छनौट गरिसकेको छ । अन्य खेलाडी आयोजकको कार्यक्रम अनुसार प्रोजेक्टरमार्फत् फोटो, उमेर, उचाइ र स्थान हेरेर रकम वडाबडमा खेलाडी खरिद गरी १८ जना पु¥याउने आयोजक कमिटीले जनाएको छ ।

क्लबले खेल अवधिभर १ लाख मात्र खर्च गर्न पाउनेछन् । उतिखेर धनकुमार तामाङको नेतृत्वमा २०७० र २०७१ मा प्रथम र दोस्रो पथरी गोल्डकपको आयोजना गरेको थियो ।