धरान । युरोपियन च्याम्पियन्स लिगको सुरुवाती चरणको खेलमै स्पेनिस महारथी रियल मड्रिड पराजित बनेको छ ।

बुधबार राति सम्पन्न समूह बीको खेलमा रियलले युक्रेनको क्लब एफसी शख्तर डोनेट्स्कले ३–२ गोलले पराजित गरेको हो । रियललाई आफ्नै घरेलु मैदानमा डोनेट्स्कले हराउँदा रियलका फ्यान निकै भावुक बने । डोनेट्स्कले पहिलो हाफमै तीन गोल गरेको थियो भने रियलले दोस्रो हाफमा मात्रै आफूलाई केही आशाका किरण देखाए पनि गोलका मौका खेर फाल्दा बराबरी हुने मौका पनि गुमाएको थियो ।

खेलमा कार्डोसो लेमोस मार्टिन्सले खेलको २९ औं मिनेटमा गोल गरे । ३३ औं मिनेटमा राफायल भारानले आफ्नै पोष्टमा गोल गरेपछि अग्रता दोब्बर बनाएको थियो । त्यस्तै ४२ औं मिनेटमा सोलोमोनले गोल गर्दै अग्रता तेब्बर बनाएको थियो ।

यता रियलले दोस्रो हाफको १४ औं मिनेटभित्र दुई गोल गर्न सफल भएको थियो । तर, पनि जितका लागि पर्याप्त बनेन । रियलका लागि लुका मोड्रिकले ५४ औं मिनेटमा पहिलो गोल गर्दा भिनिसियस जुनियरले ५९ औं मिनेटमा दोस्रो गोल गरे । त्यसपछिका अन्तरालमा रियल अगाडि बढ्न सकेन । पहिलो खेलबाटै खराब नजिता प्राप्त गरेको रियलले अबका खेल निकै सतर्कतापूर्वक खेल्नुपर्ने हुन्छ ।

समूह बी अन्तर्गतको अर्को खेल इटालियन क्लब इन्टर मिलान र जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखबीचको खेल २–२ गोलको बराबरीका रोकिएको छ । डोनेट्स्कले स्पष्ट तीन अंक जोड्दा अन्यको एक–एक अंक छ । रियल भने अंकविहीन रहेको छ ।