धरान । अमेरिकन रेस्लर जोन सिनाले इरानी मूलकी क्यानेडियन युवतीसँग बिहे गरेका छन् ।

जोन सिना डब्लूडब्लूईका च्याम्पियनसमेत हुन् । ४३ वर्षीया जोन सिनाले शाए शारियातजादेसँग बिहे गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत बिहे सार्वजनिक गरेका छन् ।

उनीहरूले गत फेब्रुअरीमा इङ्गेजमेन्ट गरेका थिए । १२ अक्टोबरमा बिहे गरेका हुन् । अमेरिकाको फ्लोरिडा शहरमा सिना र शारियातजादेले विवाह गरेका हुन् । उनीहरू केही वर्षयता प्रेममा रहेका थिए ।

शारियातजादेले गत अप्रिलमा युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाबाट इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेकी थिइन् । शारियातजादेको परिवार लामो समययतादेखि क्यानडामा बस्दै आएको छ ।