धरान । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

इटालीको युभेन्टसबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोलाई कुनै लक्षण नदेखिए पनि कोरोना भएको पुष्टि भएको हो । उनी हाल आइसोलेसनमा रहेको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समय उनी विश्वकप फुटबल छनौट र नेसन्स लिग खेलका लागि पोर्चुगल पुगेका थिए । नेसन्स लिग अन्तर्गत स्पेन र फ्रान्ससँगको खेलमा बराबरी खेलेको छ । ३५ वर्षीय रोनाल्डो अब हुन लागेको नेसन्स लिग प्रतियोगिता अन्तर्गत बुधबार रातिको खेलमा स्वीडेनविरुद्ध उपस्थित नहुने भएका छन् ।

अन्य खेलाडीको परीक्षण भने नेगेटिभ आएको छ । पोर्चुगलको फुटबल महासंघले अन्य टोली सुरक्षित रहेकाले आजको खेलमा जितको लक्ष्य रहेको जनाएको छ ।