इटहरीमा ०५५ मा महिला बचत तथा ऋण सहकारी संस्था खुलेको थियो । यो सहकारी अहिले इटहरीकै उत्कृष्ट सहकारीमा दरिएको छ । यो संस्थाले २३ औं स्थापना दिवस मनाउँदैछ । यसै सन्दर्भमा महिला बचतकी अध्यक्ष अमृता सुब्बा सँग धनबहादुर पुरीले गरेको कुराकानी ः

महिलाहरूले खोलेको सहकारी कसरी चल्दैछ ?
– महिलाहरुलाई व्यावसायिक बनाउने उद्देश्यले सहकारी खोलेका थियौं । देशमै उत्कृष्ट भएको छ । ७५ जना महिलाले १ लाख रुपैयाँ सङ्कलन गरी झोला सहकारीका रुपमा सुरू गरेका थियौं । त्यो बेला सदस्य बनाउनका लागि घरदैलो अभियान सुरू गरेको सहकारीमा हाल १० हजारभन्दा बढी महिला शेयर सदस्य छन् । ९० जना बढीले रोजगारी पनि पाएका छन् ।

सहकारीलाई उत्कृष्ट बनाउन कसरी सम्भव भयो ?
– हामीले मेहनत गरेका छौं । हाल संस्थाको कुल पुँजी ६२ करोड २१ लाखभन्दा बढी छ । महिलाहरुको लागि कोसेली घर स्थापना गरेका छौं । महिलाहरुलाई स्वरोजगार बनाउने अभियानमा महिला बचतको सहयोग छ । ४४ करोड रुपैयाँ ऋण प्रवाह गरेका छौं । यो सहकारीले गत आ.व.मा १ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

स्थापनाकाललाई कसरी सम्झनुहुन्छ ?
– महिलाले के चलाउलान् भनेर सुरूवातमा खासै पत्याएनन्, अहिले संस्थालाई नाफामुखी बनाउन सकेका छौं । अहिले कोरोनाको बेला पनि सदस्यहरुलाई पनि सेवा दियौं ।

स्थापना दिवसमा के के गर्दै हुनुहुन्छ ?
– विपन्न वर्गका सदस्यहरुलाई खाद्यान्नसँगै ५ हजारसम्म बिना ब्याज ऋणसमेत दिएका छौं । महिला बचतले व्यवसाय, कृषि र शिक्षालगायत क्षेत्रमा लगानी गर्दै आएको छ ।

आगामी दिनमा कसरी अगाडि बढ्ने योजना छ ?
– संस्थाको हाल आफ्नै दुईतले भवन छ । महिला सहकारीले वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा समेत सहयोग पुर्याउँदै आएको छ । वार्षिक रुपमा सीप, नेतृत्व विकास, व्यावसायिक तथा उद्यमशीलता तालिमहरुसमेत सञ्चालन गर्दै आएको छ । सामान्य बचतबाट सुरू भएको संस्थाले एशियालीस्तरको एक्सेस ब्रोञ्चसमेत प्राप्त गरिसकेको छ ।