बिर्तामोड/ लगातारको वर्षाले झापामा यसवर्ष ७० प्रतिशत तरकारी उत्पादनमा गिरावट आउने भएको छ । झापाको गौरीगञ्ज, बुद्धशान्ति, अर्जुनधारा, कमल, बिर्तामोड लगायत क्षेत्रमा लगाइएका तरकारीमा वर्षाका कारण उत्पादन घट्ने भएको हो ।

तरकारीको बिउ नर्सरी राखेका किसानले लगातारको वर्षाका कारण बेर्ना उम्रिन नसकेको बताए । हावापानी मिलाउन नसक्दा यस पटक टनेलमा पनि बेर्ना उत्पादन गर्न नसकिएको किसानको गुनासो छ । पछिल्लो समय बेमौसमी तरकारी बाली लगाउने चलन बढ्दै गए तापनि यस वर्ष अत्यधिक वर्षा भएका कारण बिरुवा उत्पादनमै समस्या भएपछि किसानहरू पीडित बनेका छन् । जसकारण तरकारीको मूल्य बढेसँगै उपभोक्ताको भान्सा महँगिएको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार वर्षाले उत्पादनमा कमी आएको भए पनि क्षतिको विवरण तथ्याङ्कमा आएको छैन । झापामा गत वर्ष ५८ वटा ब्लकमा तरकारी खेती हुँदै आएकोमा टनेलबाहेक खेती गर्ने कृषकले तरकारी उत्पादन गर्न नसकेको उनले बताए । झापाको अर्जुनधारा नगरपालिकामा मामाभाञ्जा कृषि फार्म सञ्चालक निर्मल अधिकारीका अनुसार बिरुवा उत्पादन हुन नसक्दा तरकारी उत्पादन गर्न नसकेको बताए ।

हाल उनीहरूले २० बिघामा तरकारी खेती गर्दै आएका छन् । यतिखेर बोडी, करेला, काँक्रा, कोपी, टमाटर, सिमी, क्याप्सिकोन, फर्सीलगायतका तरकारी लगाउने तयारी भएको थियो । तर, बिरुवा उत्पादनमा ढुसीजन्य रोग लागेपछि समस्या भएको छ । बिर्तामोड नगरपालिकाका कृषि अधिकृत एवम् कृषिविज्ञ राजेन्द्र कडरियाका अनुसार टनेलभित्रै पनि तापक्रम नमिल्दा बिरुवा उत्पादन हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘यो वर्ष ७० प्रतिशतभन्दा बढी तरकारी उत्पादनमा गिरावट आउनेछ ।’

अत्यधिक वर्षाका कारण आउँदै गरेको चाडपर्वमा तरकारीको मूल्य थप आकासिने कडरिया बताउँछन् । झापाको बिर्तामोडमा रहेको कृषिउपज बजार केन्द्रमा भारत र पहाडी जिल्लाबाट आयात भएका तरकारी मात्र बिक्री भइरहेको पाइएको छ । व्यापारीका अनुसार झापामा तरकारी उत्पादन हुन छोडेपछि बाहिरबाट आउने तरकारीको भरमा बजार टिकेको छ ।