मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकास्थित एक पसलमा ५ बोरा मल लुकाइएको अवस्थामा फेला परेको छ ।
उपभोक्ता हित संरक्षण समितिले शुक्रबार अनुगमन गर्ने क्रममा पाँच बोरा युरिया मल बरामद गरेको हो । मिक्लाजुङ–९ मधुमल्ला बजारमा सञ्चालित बोहोरा कृषि भण्डारले भण्डारण गरेर राखेको अवस्थामा सो मल बरामद गरिएको गाउँपालिकाकी उपाध्यक्ष एवम् समितिकी संयोजक सरला राईले बताइन् । उनले किसानले मल पाउन नसकिरहेका बेला पसलले भने भण्डारण गरेर राखेको अवस्थामा भेटिएको बताइन् ।
बिहीबार मल वितरण गर्ने क्रममा मल भण्डारण गरेर राखिएको भन्दै व्यापक गुनासो आएको थियो । बरामद गरिएको मल तत्काल किसानलाई वितरण गर्न निर्देशन दिइएको उपाध्यक्ष राईले बताइन् । समितिले उपभोक्तालाई पक्षपात नगरी बाँड्न, पुनः गल्ती नदोहो¥याउन र प्रतिबोरा ८ सय ५० भन्दा बढी नलिन पनि निर्देशन दिएर छाडिएको समितिका सदस्य सचिव चिन्तामणि पोख्रेलले बताए ।
समितिले पसल र मल डिलर सञ्चालनको अनुमति पाएको मधुमल्ला बचत तथा ऋण सहकारी संस्थालाई स्पष्टीकरण लिने तयारी गरेको छ । मल डिलरलाई र सहकारीलाई के कारबाही हुने भन्ने विषयमा चाहिँ मिक्लाजुङ गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गर्ने उपाध्यक्ष राईले बताइन् ।
मधुमल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव गोविन्द भण्डारीले मल वितरणमा पक्षपात नगरेको र सम्भव भएसम्म सबैलाई पु¥याउने प्रयास गरिएको दाबी गरे । उनले काम गर्ने क्रममा केही गल्ती कमजोरी भएको भए आगामी दिनमा सच्याएर जानेसमेत बताए ।