भेडेटार/ पूर्वको पर्यटकीय भेडेटारमा पर्यटकहरूको खडेरी लागेको छ । पर्यटकको चहल–पहल ठप्प हुँदा प्रदेश १ कै प्रमुख पर्यटकीयस्थल भेडेटार सुनसान छ ।
नेपालको आन्तरिक पर्यटक मात्र नभई भारतको विहार, सिक्किमदेखि पर्यटकहरू आउने भेडेटारमा यो वर्ष कोरोना त्रासले सुनसान भएको हो । पर्यटकीय क्षेत्र भेडेटारमा अहिले करोडौं लगानीमा खुलेका होटल तथा लजहरू सङ्कटमा छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरी खुलेका अधिकांश होटलहरूको कन्तबिजोक भएको छ । आन्तरिक तथा वाह्य पर्यटकको आगमन ठप्प हुँदा व्यवसायीहरू आर्थिक समस्यामा पर्न थालेका छन् ।
दिन प्रतिदिन चहल–पहलमा कमी हुँदै गएको छ । कोशी राजमार्गमा गुड्नेबाहेक भेडेटार बजार क्षेत्रमा सवारीसाधनको उपस्थिति प्रायः देखिँदैन । कोरोना त्रासकै कारण पछिल्लो समय भेडेटार बजारको व्यापार–व्यवसाय ठप्प रहेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । उनले दैनिक ५ लाखभन्दा बढीको कारोबार हुने भेडेटारमा अहिले ठप्पजस्तै रहेको बताए ।
प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको भेडेटारमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गर्छन् । नेपाल–भारत सीमानाका क्षेत्रमा कडाइ हुन थालेपछि भारतीय पर्यटक आउन छाडेको उनले बताए । अहिले पर्यटकहरूको खडेरी लाग्दा व्यवसायीहरू चिन्तित बनेको उनी बताउँछन् । ‘व्यवसायीहरूले पुरानो होटलमा पनि भ्रमण वर्ष २०२० लाई लक्षित गरेर लाखौं रुपैयाँ लगानी थप गरेका थिए’ –उनले भने ।
सधैँभरि चिसो मौसम भइरहने भेडेटारमा गर्मीमा पर्यटकको घुइँचो लाग्थ्यो । सिजनका बेला कोरोना सन्त्रासले होटल ठप्प हुँदा समस्या भएको होटल एसोसिएसनका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले जनाए । अहिले होटल व्यवसायीहरू सङ्कटमा परेको उनको भनाइ छ । कोरोनाको कारण र भेडेटार चोकमा प्रहरी प्रशासनको कारण पनि होटल सञ्चालनमा समस्या भएको उनको भनाइ थियो ।
भेडेटारसहित नाम्जे, थुम्कीलगायत क्षेत्रमा साना–ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन् । ती होटलमा १ अर्बभन्दा बढी लगानी भएको बताइएको छ । अधिकांश होटलमा वित्तीय संस्थाको लगानी छ भने केहीले घर भाडामा लिएर होटल व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यस क्षेत्रका करिब ७ सय कामदारसमेत समस्यामा परेका छन् ।
सबैतिर सुनसान
भेडेटारको ओख्रे टावर, चाल्र्स टावरसँगै भेडेटारभन्दा केही तल रहेको नमस्ते झरनासमेत अहिले सुनसान छ । घुमघामको लागि त्यहाँ कोही पनि नआउँदा अहिले यी टावर र झर्नामा पर्यटकहरूको खडेरी लागेको होटल एसोसिएसनका अध्यक्ष राई बताउँछन् । यहाँ अहिले भीडभाड हुने सिजन हो । पर्यटक नआएपछि यी स्थान सुनसान हुँदा आयस्रोतसमेत घटेको छ ।
अघिल्लो वर्षतिर यतिबेला ९० प्रतिशत होटलहरू भरिभराउ हुने गरेको अध्यक्ष राई बताउँछन् । अहिले होटलहरूमा पर्यटकहरू नआउँदा अधिकांश होटल व्यवसायीहरू मारमा परेको उनीहरू बताउँछन् । करिब ३ करोडको लगानीमा निर्मित जिपलाइनसमेत बन्द हुँदा लगानी ओरालो लागेको छ । ‘अर्को पनि जिपलाइन बन्ने कुरो थियो, कोरोनाले चौपट भयो’–अध्यक्ष राईले भने ।
भेडेटारमा प्रहरीको मनपरी
भेडेटार प्रहरीले पर्यटकहरूलाई अनावश्यक दुःख दिएको भन्दै प्रहरीको चौतफी विरोध हुन थालेको छ । कोरोनाको त्रासबीच नै भेडेटार पुग्ने आन्तरिक पर्यटकहरूलाई प्रहरीले मनपरी गालीगलौजसमेत गर्ने गरेको सर्वसाधारणहरू बताउँछन् । सामान्य विषयलाई लिएर प्रहरीले निहुँ खोज्ने गरेको भन्दै त्यहाँका व्यापारीहरू नै असन्तुष्ट बन्दै आएका छन् ।
भेडेटार पुगेका इटहरीका सन्देश राईले पर्यटकीय क्षेत्रमा प्रहरीले रुखो व्यवहार देखाएको आरोप लगाए । तनावको बीच परिवारसहित भेडेटार पुगेका राईले भने, ‘भेडेटारमा प्रहरीको दादागिरीले सबैभन्दा ठूलो समस्या भयो ।’ आफूहरूलाई प्रहरीले पास देखाऊ भन्दै हैरानी दिएको बताए । गृहमन्त्रालयले देशभर पास जारी नगरे पनि भेडेटारको प्रहरीले भने पास मागेर सर्वसाधारणलाई दुःख दिने गरेको उनको आरोप छ ।