धरान । धरानमा बोइलर कुखुराको मासुको मूल्य ४० रुपैयाँ प्रतिकेजीले घटेको छ ।

धरान उपमहानगरपालिकाले भदौ १५ गते बनाएको पशु सेवा महाशाखाका प्रमुख महेन्द्र पैकाराको अध्यक्षतामा बनेको मूल्य निर्धारण समितिले आइतबारबाट लागू हुने गरी प्रतिकेजी २८० रुपैयाँ कायम गरेको हो ।

अब किसानले प्रतिकेजी जिउँदो खुकुराको मूल्य १८० रुपैयाँमा बिक्री गर्ने व्यवस्था गरिएको छ । यता व्यवसायीहरूले प्रतिकेजीमा १०० रुपैयाँ नबढ्ने गरी मूल्य निर्धारण गरिएको बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए ।

‘आज बसेको बैठकले प्रतिकेजीमा ४० रुपैयाँ घटाएको छ, आइतबारदेखि लागू हुने गरी २८० रुपैयाँ प्रतिकेजी कायम गरिएको हो’–उनले फोन सम्पर्कमा भने ।

भदौ १५ गते पैकाराको अध्यक्षतामा बनेको समितिमा किसान, डिलर व्यवसायी, मासु व्यवसायी र धरान उपमहानगरको प्रतिनिधिहरू सम्मिलित ९ सदस्यीय समिति बनाइएको थियो । समितिले सुँगुरको मासु प्रतिकेजी हाल बिक्री भइरहेको ३६० रुपैयाँ नै कायम गरेको छ ।

त्यस्तै राँगाको मासु ३५० रुपैयाँ, खसीको मासु प्रतिकेजी ९०० रुपैयाँ कायम गरिएको बजार अनुगमन अधिकृत सापकोटाले जानकारी दिए । उनका अनुसार अब समितिले डिलर व्यवसायीकहाँ भण्डारण (स्टोक) अनुगमन गर्ने भएको छ । धरानमा बाहिरबाट पनि बोइलर कुखुराको मासु आइरहेकाले पनि भण्डारण अनुगमन गरेर ल्याउने नल्याउने विषयमा थप निर्णय गरिने गरी तयारी भएको छ ।

धरान उपमहानगर अनुगमन समितिकी संयोजक तथा उपप्रमुख मञ्जु भण्डारी सुवेदीको प्रमुख उपस्थितिमा शुक्रबार छलफल भएको थियो ।