ब्लाष्टखबर । तोकिएको समयमा रासायनिक मल नल्याउने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजलाई कृषि सामग्री कम्पनीले कारबाही गरेको छ ।

कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीसँग सम्झौता रद्द गर्दै उनीहरुले राखेको करिब साढे नौ करोड ब्याङ्क धरौटी समेत जफत गर्ने निर्णय गरेको छ । भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल नल्याउँदा किसानका खेतमा धान मर्न थालेपछि चौतर्फी रुपमा सरकारको आलोचना हुन थालेपछि कम्पनीले ठेकेदारलाई कारबाही गर्ने निर्णय गरेको हो । शैलुङ इन्टरप्राईजेज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । निर्माण क्षेत्रमा पनि यो कम्पनी विवादित छ । हानोको मल्टिपर्पोज चाहिं हुमनाथ कोइरालाको कम्पनी हो ।

कम्पनीको निर्णयसँगै शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का सम्झौता गरेका थिए ।

आइतबार पत्रकार सम्मेलन आयोजना गरी कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङ र होनिकोलाई कारबाही गरिएको जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखानाको सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्र भारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको बताइएको छ ।