• अनिल श्रेष्ठ

विराटनगर / सरकारले प्रयाप्त मात्रमा रासायनिक मल कृषकलाई उपलब्ध गराउन नसकेपछि मोरङको दक्षिण भेगमा भारतदेखि यूरिया र डिएसपी मलको तस्करी हुने क्रम बढेर गएको छ ।
धान रोपाइको सिजनामा कृषकले प्रयाप्त मात्रमा रासायनिक मल नपाएपछि भारतबाट नेपालमा तस्करी बढेर गएको हो ।

विराटनगरस्थित कृषि सामाग्री कम्पिन लि. प्रदेश १ कार्यालय विराटनगर र साल्ट ट्रेडिङ कर्पोरेसनले प्रयाप्त मात्रमा कृषकलाई मल उपलब्ध गराउन नसक्दा तस्करी धन्दामा लागेका गिरोहले ल्याएको मल मङ्गो मुल्यमा खरिद गरि कृषकले बालीमा लगाउन बाध्य छन् । कृषि सामाग्रि कम्पनीले प्रतिबोरो ७ सय रुपैयाँमा युरिया मल सहकारीमार्फत कृषकलाई उपलब्ध गराउँदै आएको थियो ।

अहिले मोरङ, झापा र सुनसरीका कृषकहरूले ७ सय रुपैयाँ प्रतिबोरा पाइने युरिया मल २ हजार रुपैयाँमा खरिद गरी बालीमा लगाउन बाध्य भएका हुन् । तस्करी धन्दामा लागेका गिरोहले भारतमा प्रतिबोरा यूरिया ६ सय ६० रुपैयाँमा खरिद गरी ल्याउने गर्दछन् । नेपालमा ल्याएपछि उनीहरूले मोरङको रंगेली, डानिया, कोनेपोखरी, डागिहाटमालगायतको किराना पसलहरूमा विक्री वितरण गर्दछन् । कृषकले ती पसलहरूबाट मलखाद खरिद गर्दछन् ।

९७ बोरा मल बरामद
कृषि कम्पनीमा प्रयाप्त मल नहुनु र मोरङ प्रहरीले सोमबार छुटाछुटै स्थानबाट तस्करी भइ नेपाल प्रवेश गरेको ५४ बोरा मल बरामद गर्नुले पनि भारतदेखि नेपालमा मलको तस्करी बढेर गएको पुष्टि गर्दछ । सोमबार विराटनगर महानगरपालिका १४ जतुवा नहरबाट भारतदेखि तस्करी गरि ल्याएको ११ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरी र सिआरबी जतुवाबाट खटिएको प्रहरी टोलीले तस्करी गरि ल्याएको मल बरामद गरेको हो । प्रहरीले बरामद गरेको मल आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ ।
यस्तै आइतबार राती मोरङ जहदा गाउँपालिका १ भुटाहास्थित ५० केजीको ४३ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका १ का २५ वर्षीय राज किशोर साह र सोही ठाउँका नन कुमार शर्मालाई तस्करी गरि ल्याएको मलसहित अन्य विभिन्न सामाग्रीहरू पनि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोक दर्शन थापाले जानकारी दिए । ‘पछिल्लो समयमा अवैध रूपमा भित्रिएको मल बरामद हुने क्रममा बढेर गएको छ,’उनले भने, ‘प्रहरीले सक्रियता बढाएपछि सिमा क्षेत्रमा हुने चोरी तस्करीको सामाग्रीहरू बरामद गर्दै आएको छ ।’

कृषि सामाग्री कम्पिनमा सकियो मल
रोपाइ सकिएपछि धान हरियो हुन थालेपछि अहिले कृषकहरूको अत्याधिक माग यूरिया मल छ । तर, गत जेठदेखिे प्रदेश १ को कृषकलाई सहकारीमार्फत वितरण गर्ने यूरिया मल विराटनगरस्थित कृषि सामाग्री कम्पिनमा सकिएको छ । कृषि सामाग्री कम्पनी लि. विराटनगरका प्रमुख नवरत्न गौतमका अनुसार गत जेठदेखि युरिया मल सकिएको जानकारी गराए । आर्थिक वर्षमा मौज्जात रहेको ९ हजार ९ सय मेक्ट्रिकटन यूरिया रहेकोमा सबै सहकारीलाई विक्री गरेको उनले जानकारी दिए ।
अहिले दैनिकजसो किसानहरु रासायनिक मलको लागि विराटनगर र नजिकको सहकारी पसल पुग्दै रित्तो हात फर्किरहेका छन् । सरकारसँग युरिया र डीएपी मलको पर्याप्त मौज्दात नहुँदा अभाव सिर्जना भएको हो ।
सरकारले हरेक पटक मल आपूर्ति गर्दा ७० प्रतिशत मल कृषि समाग्री कम्पनी लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनलाई जिम्मा दिने गरेको छ । कृषि कम्पनीको केन्द्रीय कार्यालयले प्रदेश १ को कार्यालायमा १९ प्रतिशत रासायनिक मल दिदै आएको छ । समयमै आपूर्ति गर्न नसकेपछि अहिले बजारमा मलको हाहाकार हुन पुगेको बताइन्छ । सालैपिच्छे रासायनिक मलको माग बढ्ने गरेको छ । तर, सरकारले माग बढेअनुसार आपूर्ति गर्न सकिरहेको छैन ।