ताप्लेजुङ/ मकै दोहोर्याउने बेला रासायनिक मल नपाएपछि कृषक समस्यामा परेका छन् । मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन् । 

‘मल नलगाई मकैमा घोगा र दाना लाग्दैन,’ आइतबार मल खरिदका लागि बजार आएका फुङलिङ नगरपालिका–४ का कृषक देउकुमार लिम्बूले भने,’ ‘बजारका सबै पसल चाहारें, कतै पाइएन ।’ मल खोज्दै कृषि सामग्री कम्पनीको कार्यालय र साल्ट ट्रेडिङमा पुगेका व्यवसायीहरू रित्तो हात फर्किइरहेका छन् । पूर्वी पहाडको ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुममा मल बिक्री गर्ने कृषि सामग्री कम्पनी झापाकै गोदाममा युरिया मल नरहेको सूचना अधिकारी नारायण टुडुले बताए ।

फुङलिङ बजारका व्यवसायी तुलसी गौतमको पसलमा युरिया मलका लागि प्रत्येक दिन ९० देखि सयजनासम्म कृषकहरू खोज्न पुग्ने गरेका छन् । ‘अहिले मकैमा लगाउने सिजन भएकाले युरिया मल सोध्न धेरै कृषकहरू आउनुहुन्छ,’ व्यवसायी गौतमले भने, ‘छैन पछि सम्पर्क गर्नुस् भन्दै फर्काउन बाध्य छु ।’ कृषकले दोहोरो मकै गोड्नुअघि फेदमा मल लगाउने गरेका छन् । पहिले सहकारी संस्थाले वैशाख नलाग्दै गाउँमै ल्याएर मल बिक्री गरेको भए पनि यस वर्ष नल्याएको पाँचथर याङ्वरकका कृषक हर्क लिम्बू बताउँछन् । 

कृषि सामग्री कम्पनीले सहकारी संस्थामार्फत् अनुदानको मल कृषकलाई प्रदान गर्दै आएको थियो । दुई पटक झापास्थित कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको कार्यालय पुगेर फर्किएको फुङ्लिङस्थित सूर्योदय कृषि सहकारी संस्थाका सचिव झकमणि दाहालले बताए । ‘गाउँका लागि आवश्यक मलको विवरण सङ्कलन गरेर झापासम्म पुग्यौं,’ दाहालले भने, ‘माथिबाटै आएको छैन भनेर पठाए ।’ माथिबाटै मल नआएको कृषि सामग्री कम्पनी झापाका सूचना अधिकारी टुडु बताउँछन् ।

उनका अनुसार इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई भेगमा गत वर्ष १ हजार २ सय ५८ मेट्रिक टन युरिया मल खपत भएको थियो । त्यसमध्ये इलाममा ७ सय ९७, ताप्लेजुङमा ३ सय २३, पाँचथरमा ९० र तेह्रथुममा ५३ मेट्रिक टन छ । पहिल्यदेखि रसायनिक मल लगाउने बानी परेकाले मलबिना बालीले उत्पदान नदिने अवस्था रहेको मिक्वाखोलाका कृषक हरि लिम्बू बताउँछन् ।