भोजपुर/ जिल्लाको अरुण गाउँपालिकामा रासायनिक मलको कालोबजारी भएको पाईएको छ । तोकिएको मूल्य भन्दा चार गुणा बढी मूल्यमा रासायनिक मल किसानलाई बेच्ने गरेको पाइएको हो ।
प्रतिबोरा ७ सय ८५ रुपैयाँ पर्ने मल स्थानीय व्यापारी अर्जुन कटुवालले २५ सयमा किसानलाई बेच्ने गरेको स्थानियले बताएका छन् । कटुवालले यस अघि पनि वास्तविक मूल्य भन्दा तेब्बर बढी मूल्यमा मल बेचेको स्थानीय नवराज फुँयालले बताए । फुयालले भने “स्थानीय खुद्रा व्यापारी समेत रहेका कटुवालले कोरोना महामारीको बन्दाबन्दीमा पनि गाउँमा मनपरी मूल्यमा मल बेच्दै आएका छन् , गाउँमा मलको हाहाकार भएपछि हामी जस्ता किसान कटवालले तोकेकै महंगो भाउमा मल किन्न बाध्य भएका छौ ।”
मनपरी मूल्य तोकेर गाउँमा मलको कालोबजारी गरिरहेको गोप्य सूचना पाए पछि प्रहरीले बुधवार मल ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ । मोरङको सलकपुरबाट रातारात मल ल्याउदै गर्दा को १ ख ३४६६ नम्बरको मिनी ट्रकका चालक भोजपुर नगरपालिका १२ का धन बहादुर सुन्दासलाई ४० बोरा युरिया मलसहित पक्राउ गरिएको हो ।
मल ल्याउने क्रममा धनकुटाको लेगुवा र भोजपुरको जरायोटार प्रहरी चेक पोष्टमा प्रहरीले सोधपुछ गर्दा ‘गाडीमा कुखुराको चारो छ’ भनी चालक सुन्दासले झुक्याएर गाडी प्रवेश गराएका थिए । पछि गाउपालिकाको ओदानेमा गाडी रोकेर चालकलाई स्थानीयले सोधपुछ गर्दा याकुका व्यापारी कटुवालको मल ल्याएको बताए पछि मलको कालो बजारी पर्दाफास भएको हो ।
नियन्त्रण गरिएको उत्तम ब्राण्डको मलको कुनै पनि रसिद नहुँदा कहाँबाट कति मूल्यमा खरिद गरि ल्याईएको भन्ने समेत खुलेको छैन । मल ल्याइएको मिनीट्रकमा जुत्ता, चप्पल, रंग लगायत हार्डवेयरका सामग्रीमा पनि बरामद गरिएको छ । बरामद मल र मिनिट्रक जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
मलसहित पक्राउ गरिएका सुन्दासलाई भने २० दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ । याकु घर भएका व्यापारी कटुवाल भने सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले बताए । कालो बजारी गर्ने कटुवालको भने खोजी भैरहेको प्रहरीले जनाएको छ ।
यता अरुण गाउपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले पनि कसैले बढी मूल्य लिएर मल बिक्री गरेको पाइए कारवाहीको दायरामा ल्याउने बताए । अरुण गाउँपालिकाका लागि रासायनिक मल खरिद गर्न एचपी सप्लायर्सलाई ठेक्का दिईएको अध्यक्ष कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार सप्लायर्स संंग प्रतिकिलो ५० रुपैयाँका दरले एक हजार ३ सय ९५ बोरा डीएपी र दुई हजार ६ सय ५ बोरा युरिया मल ल्याउने सम्झौता भएको छ । सप्लार्यसले कृषकलाई कोरोना महामारीका कारण समयमै किसानलाई मल दिन नसकेको बताएको छ ।