इटहरी/ एक महिना बन्दपछि इटहरी बजार खुले पनि सुनसान छ । कोरोनाको त्रासले उपभोक्ताहरू बजारमा देखिएका छैनन् । अधिकांश पसल बिहान १० बजेसम्म खुले पनि ग्राहकको खडेरी लागेको इटहरी–६ स्थित हीरा होटलका सञ्चालक प्रकाश महतोले जानकारी दिए ।

‘बजार खुल्ला भए पनि यातायात नचलुञ्जेल व्यवसाय नचल्ने जस्तो देखियो’–महतोले भने । अरू बेला भीडभाड हुने हीरा होटलमा अहिले प्याकिङ लानेहरूको सङ्ख्या न्यून मात्र छ । इटहरीमा दैनिकजसो कोरोना सङ्क्रमितको दर बढिरहेको छ । बजार खुल्दा पनि इटहरीका व्यस्त चोकहरू सुनसान हुँदै गएका छन् । सधैँ व्यस्त हुने इटहरी चोक पनि हाल सुनसान भएको छ ।

इटहरी–६ का वडाध्यक्ष दीपक गौतम बजार खुल्ला भए पनि सुनसान भएको बताउँछन् । उनी भन्छन्, ‘तर, केही घण्टा मात्र भए पनि व्यवसाय खुल्दा व्यवसायीहरू चाहिँ उत्साहित नै छन् ।’ इटहरी बजार प्रदेश १ कै सबैभन्दा बढी भीडभाड हुने र व्यापारिक बजार पनि हो । किनमेल गर्ने मानिस पातलिँदै जाँदा व्यवसायीहरू भने चिन्तित बनेका छन् । चाडबाड सुरु भएसँगै पूर्वी पहाडी जिल्लाहरूबाट समेत व्यापारीहरू आउने गर्थे । तर यातायात बन्द हुँदा सुनसान भएको व्यापारीहरू बताउँछन् ।

उद्योग वाणिज्य सङ्घ इटहरीका महासचिव तथा व्यापारी पिताम्बर पोखरेलले पहिलो दिन खुलेको भएर पनि बजारमा ग्राहक कम देखिएको बताए । ‘बजार नखोली हुँदैन, खोल्दा ग्राहक आउँदैनन्’–उनले भने । व्यापारीहरू दिनानु दिन आर्थिक समस्यामा पर्दै गएको उनी बताउँछन् ।

घरभाडा, बैङ्कको ब्याज र कर्मचारी तलबका कारण अधिकांश व्यापारीहरू समस्यामा पर्दैै गएको महासचिव पोखरेलले बताए । जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सूचना जारी गरेपछि ह्वात्तै व्यापार घटेको उनी बताउँछन् । कोरोनाको बढी हल्लाले पनि व्यापारमा असर परिरहेको व्यापारीहरू बताउँछन् । उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल भन्छन्, ‘सबैमा त्रास छ । बाटोमा मानिसको चहल–पहल एकदमै कम दखिन्छ ।’

‘व्यापारको चिन्ता एकातिर हुँदाहुँदै अर्कातिर बैङ्कको ब्याजको चिन्ता भइरहेको छ’ अध्यक्ष पौडेलले भने, ‘केही दिनपछि बजारमा ग्राहक आउँछन् भन्ने आशा छ ।’ कोरोना भाइरसको प्रभाव परेकोले ग्राहक घटेको उनको बुझाइ छ । त्रासै त्रासमा ग्राहक घटेसँगै व्यापार पनि घटेको र लामो समयसम्म यस्तै अवस्था रहे व्यापार गर्ने वातावरण नहुने उनले बताए । आवश्यक मापदण्ड तयार गरेर बजार खोल्न अध्यक्ष पौडेलको आग्रह छ ।

यता इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले भने स्वास्थ्य मापदण्ड बनाएर मात्र १० बजेदेखि ५ बजेसम्म व्यापार खोल्न आग्रह गरे पनि प्रशासनले नमानेको आरोप लगाएकी छन् । बजार दिनभर खोल्न र फुटपाथको मापदण्ड तयार गरौं भन्दा प्रजिअ नमानेको भन्दै उनले फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरेकी छन् ।