नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदै छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः घिसिङलाई नै निरन्तरता दिएको भनी सामाजिक सञ्जालमा खुबै चर्चा चल्यो । केही अनलाइन पोर्टलले पनि सामाजिक सञ्जाललाई नै आधार मानेर कुलमान घिसिङ पुनर्नियुक्ति भएको भनी समाचार सम्प्रेषण गरे । घिसिङकै ‘फेक फेसबुक आइडी’ बनाएर बधाई लिने काम भयो । अधिकांश सर्वसाधारणले सामाजिक सञ्जालमार्फत् बधाई दिने होडबाजी नै चलाए । अन्ततः सरकारका प्रवक्ता युवराज खतिवडाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको स्पष्ट पारे । अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले सामाजिक सञ्जालमा आएका खबरबारे सरकारलाई कुनै जानकारी नभएको बताउँदै भने, ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’

माथिको प्रतिनिधि घटनाबाट थाहा हुन्छ कि को सञ्चारकर्मी हो अनि को पत्रकार । यहाँ अफवाह फैलाउनेलाई स्वाभाविकरूपमा सञ्चारकर्मी मात्रै मान्न सकिन्छ । ऊ पत्रकारको सूचीमा पर्दैन । किनकि, शाब्दिक रूपमा सञ्चारकर्मी भनेको सञ्चारसम्बद्ध कार्य गर्ने व्यक्ति हो, जसले सत्य–तथ्यको खोजी नगर्न पनि सक्छ । यस शब्दले आमसञ्चार माध्यममा कार्यरत सबै सञ्चारसम्बद्ध कार्य गर्ने व्यक्तिलाई समेटेको हुन्छ । आमसञ्चार माध्यम भनेका सन्देश वा सूचनाको प्रवाह आम जनसमुदायमा पु¥याउने साधनहरू हुन् । यसैलाई अङ्ग्रेजीमा मास मिडिया वा छोटकरीमा मिडिया मात्रै पनि भन्ने गरिन्छ ।

प्रविधिको आधारमा आमसञ्चारका माध्यमहरू मूलतः छापा र विद्युतीय गरी दुई प्रकारका छन् । छापा माध्यममा पुस्तक, अखबार र आवधिक पत्रिका (म्यागजिन) प्रमुख पर्दछन् भने विद्युतीय माध्यमलाई श्रव्य र श्रव्य–दृश्य वर्गमा राखेर हेर्न सकिन्छ । श्रव्य विद्युतीय आमसञ्चार माध्यममा रेडियो, क्यासेट, सिडी, एमपी ३ आदि र श्रव्य–दृश्यमा टेलिभिजन, चलचित्र एवम् वृत्तचित्र प्रमुख गनिन्छन् । सन् १९९० को दशकबाट तीव्र विकासको गतिमा आएको इन्टरनेटले छापा र विद्युतीय माध्यमका सबैजसो गुणलाई समेट्न सकेको छ । इन्टरनेटमार्फत् मूलतः सामाजिक सञ्जाल र समाचार पोर्टलले सूचना प्रवाह गरिरहेका छन् । यी आमसञ्चारका माध्यममार्फत् सूचना सम्प्रेषण गर्ने व्यक्ति सञ्चारकर्मी नै हो । ऊ पत्रकार नहुन पनि सक्छ । किनकि, सबै पत्रकार सञ्चारकर्मी भए पनि सबै सञ्चारकर्मी पत्रकार हुँदैनन् ।

पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी मात्रै पत्रकार हुन् । पत्रकारिताइतरका कार्यसँग सम्बन्धित व्यक्तिलाई सञ्चारकर्मी भनिए पनि पत्रकार भन्न सकिन्न । यस आधारमा कुलमान घिसिङलाई सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणको पुनः कार्यकारी निर्देशक घोषणा गर्ने काम सञ्चारकर्मीबाट मात्रै भएको हो । पत्रकारको जस्तो सञ्चारकर्मीले सूचनाको विश्वसनीयता, वैधता र प्रामाणिकताको खोजी गरेकै हुन्छन् भन्ने छैन । किनकि, पत्रकारइतरका सामाजिक सञ्जाल प्रयोगकर्ता, पुस्तक व्यवसायी, चलचित्र एवम् वृत्तचित्रमा सम्बद्ध व्यक्ति आदिले सञ्चारसम्बद्ध कार्य गरे पनि ती पत्रकार होइनन् । यता, कुलमान घिसिङको पुनर्नियुक्ति विषयमा कतिले समाचार नै सम्प्रेषण गरे । बिनाप्रमाण सामाजिक सञ्जालकै आधारमा समाचार सम्प्रेषण गर्नेहरू पनि व्यवहारतः सञ्चारकर्मी मात्रै रहेछन् भन्ने स्पष्ट हुन्छ । तर, पनि पछिल्लो पटक सरकारले पुनः नियुक्त दिने प्रक्रियालाई अगाडि बढाएको चाहिँ सत्य हो ।

पत्रकारको पहिचान
पत्रकारितामूलक आमसञ्चारका माध्यममा आबद्ध रही समाचार सङ्कलन, लेखन र सम्पादन गर्ने व्यक्ति नै पत्रकार हो, जसले समाचारमूलक सामग्री प्रकाशन एवम् प्रसारण गर्दछ । पत्रकार मूलतः आचार–संहितामा बाँधिएको हुन्छ । उसमा कुनै पनि समाचारको विश्वसनीयता, वैधता र प्रामाणिकता परीक्षण गर्ने सामथ्र्य रहन्छ । पेशाप्रतिको उत्तरदायित्व बोधले पत्रकारको गरिमा बढाएको हुन्छ । पत्रकार आचार–संहिता, २०७३ को परिभाषाअनुसार पत्रकार भन्नाले ‘कुनै सञ्चार माध्यममा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन र सम्प्रेषणजस्ता कार्यसँग आबद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादकजस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी’ बुझिन्छ ।

माथिको परिभाषाले पत्रकारलाई व्यापक अर्थमा बुझाए तापनि अन्ततः पत्रकारितामूलक कार्यसँग सम्बन्धित व्यक्ति मात्रै पत्रकार हो भनेको छ । यहाँ आमसञ्चारमाध्यममा आबद्ध भएका सञ्चारकर्मी जसले पत्रकारितामूलक कार्य गर्दैनन्, ती पत्रकार होइनन् । यस आधारमा समाचार वा पत्रकारितामूलक कार्यसँग असम्बद्ध रेडियो, टेलिभिजन एवम् अन्य सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी पनि पत्रकार हुँदैनन् । अझ सोझो भाषामा भन्दा जुन रेडियो वा टेलिभिजनमा समाचार वा समाचारजन्य कार्यक्रम प्रसारण हुँदैन ती सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मी पनि व्यवहारतः पत्रकार हुँदैनन् ।

सबै सञ्चारकर्मी पत्रकार नहुने सन्दर्भमा अहिले वास्तविक पत्रकार छुट्याउन पनि गाह्रो छ । आज कसैले पत्रिकामा कविता छापेको आधारमा पनि आफूलाई पत्रकार भन्दै हिँडेको पाइन्छ भने युट्युबका प्रयोगकर्ता झन् आफूलाई शक्तिशाली पत्रकार ठान्दै छन् । कोही फेसबुकमै समाचार लेखेर स्थानीय तहका स्थापित पत्रकार बनेका छन् । यस्तो अवस्थामा नेपाली पत्रकारिता क्षेत्रमा सच्चा पत्रकारहरूको पहिचान हराउँदै छ । अहिले नेपालको सन्दर्भमा खास पत्रकार को हो भनेर पहिचान गर्ने आधारहरू मूलतः दुईओटा छन् । पहिलो आधारमा सूचना तथा प्रसारण विभागबाट पत्रकारको परिचय–पत्र प्राप्त गरेको व्यक्ति पर्दछ । यसलाई व्यवहारतः प्रेस पास पनि भन्ने गरिएको छ । जसले सूचना तथा प्रसारण विभागबाट पत्रकारको परिचय–पत्र पाएको छ, ऊ स्वाभाविक रूपमा पत्रकार हो । विभागले प्रेस प्रतिनिधि, सम्पादक, स्वतन्त्र पत्रकारजस्ता नामबाट परिचय–पत्र दिने गरेको छ । तर, पत्रकारिता पेशामा निरन्तरता जनाउन भने यस्तो परिचय–पत्र बर्सेनि नवीकरण गरेको हुनुपर्दछ ।

पत्रकारको पहिचान गर्ने दोस्रो आधार भनेको पेशागत छाता सङ्गठनसँगको आबद्धता हो । पत्रकारको पेशागत छाता सङ्गठन भनेको नेपाल पत्रकार महासङ्घ हो, जसले पत्रकारको हकहितमा काम गर्दछ । नेपाल पत्रकार महासङ्घमा सदस्य भएको व्यक्ति पेशागत रूपबाट स्वाभाविक ढङ्गले पत्रकार हुन्छ । पत्रकार महासङ्घको सदस्य पनि प्रत्येक वर्ष नवीकरण भएकै हुनुपर्दछ ।

यी दुई आधारभन्दा भिन्न समाचारमूलक आमसञ्चार माध्यमले पनि प्रेस वा पत्रकार भनेर परिचय–पत्र दिने गरेको पाइन्छ । आधिकारिक निकायमा दर्ता भएका समाचारमूलक आमसञ्चार माध्यमले जारी गर्नेे परिचय–पत्रहरू मात्रै वैध हुन्छन् । यस्ता परिचय–पत्र अस्थायी प्रकारको हुने हुँदा ती परिचय–पत्र वाहकलाई प्रशिक्षार्थी पत्रकारको रूपमा लिनु उत्तम हुन्छ ।

सञ्चारकर्मी शब्दको प्रयोग सन्दर्भ
अचेल पत्रकार वा सञ्चारकर्मीमध्ये कुन शब्द प्रयोग गर्नु राम्रो हो भन्ने बहस नै छ । अखबारको समकक्षी संस्कृत शब्द ‘पत्र’ सँग उत्पत्तिगत सम्बन्ध भएकाले ‘पत्रकार’ पनि पूर्णतया ‘अखबार केन्द्रित’ शब्द हो भन्ने धेरै छन् । यसले रेडियो, टेलिभिजन तथा अनलाइनमार्फत् पत्रकारिता गर्नेलाई नसमेटेकोे निष्कर्ष उनीहरूको छ । सोही कारण विद्युतीय सञ्चार माध्यममार्फत् पत्रकारिता गर्नेलाई समेत समेट्ने गरी ‘सञ्चारकर्मी’ भन्ने चलन बढ्दै गएको पाइन्छ ।

तर, हामीले कुनै पनि शब्दको व्युत्पत्तिपरक अर्थका आधारमा मात्र व्याख्या विश्लेषण गर्नु राम्रो हुँदैन । पत्रकार शब्द आफैमा रूढ अर्थ प्रदायक शब्द हो । रूढ अर्थको आधारमा यसले पत्रकारितासँग सम्बद्ध छापा, विद्युतीय र अनलाइन सबै आम सञ्चारमाध्यममा कार्यरत व्यक्तिलाई समेटेको हुन्छ । पत्रकारलाई पत्रपत्रिकासँग मात्र सम्बन्धित पार्नु भनेको यसको अर्थ सङ्कुचन गर्नु हो ।

नेपाली भाषाका सन्दर्भमा रूढ अर्थ द्योतन गर्ने शब्दहरू धेरै छन् । झट्ट सुन्दा किरियापुत्री, राष्ट्रपति, खानेपानी, जन्तेबाख्रोजस्ता शब्दहरू आफैमा विरोधाभासपूर्ण छन् । छोरो किरिया गर्न बस्छ तर पुत्री (छोरी) भन्ने, राष्ट्रपतिले पुरुषलाई मात्रै सङ्केत गरेजस्तो हुने, पानी (तरल पदार्थ) पिउनुपर्नेमा खाने भन्ने, जन्तीका लागि खसी काटेर पनि बाख्रो भन्नेजस्ता अर्थगत सन्दर्भमा मेल पाइँदैन ।

तर, पनि ती शब्दहरू आफैमा लोकप्रसिद्ध वा रूढ भइसकेका छन् । व्यवहारतः तिनलाई हामीले शुद्धरूपमा ग्रहण गरिसकेका छौँ । यही सन्दर्भमा ‘पत्रकार’ शब्दलाई हेर्ने हो भने कतै पनि विरोधाभास पाइँदैन । यसले त अर्थ सङ्कुचनको आरोप मात्रै खेपेको छ । बदलिँदो परिवेशलाई सम्बोधन नगरी केवल छापा केन्द्रित अर्थमा मात्रै ‘पत्रकार’ शब्द सीमित भयो भन्नुले प्रयोगकर्ताकै कमजोरीजस्तो देखिन्छ । यसर्थ अब ‘पत्रकार’ शब्दको सट्टा विद्युतीय सञ्चार माध्यममा कार्यरत व्यक्तिलाई समेत समेट्ने भन्दैै ‘सञ्चारकर्मी’ शब्द प्रयोग गर्न थाल्नु आवश्यक छैन । गैह्रपत्रकार पनि सञ्चारकर्मी हुने सन्दर्भमा ‘पत्रकार’ शब्द नै सर्वोत्कृष्ट हुने निष्कर्ष निकाल्न सकिन्छ ।
(लेखकः निरौला, स्वतन्त्र पत्रकार हुन् ।)