धरान । धरानभित्र बोइलर कुखुरा आपूर्ति गर्ने व्यवसायीलाई धरान उपमहानगरले तीन वटा अनिवार्य शर्त बनाएको छ ।
धरान भित्र्याइने बोइलर कुखुराको स्वास्थ्य परीक्षण, ल्याउने व्यवसायीहरूको पीसीआर परीक्षण र कुखुरा ल्याइएको क्षेत्रबाट अनिवार्य प्रमाणसहितको बिल ल्याउनुपर्ने बाध्यकारी नियम बनाएको हो । यो नियमले कुखुराको मासुको स्वच्छता साथै कोरोना भाइरस फैलिनबाट रोक्ने विश्वास गरिएको छ ।
धरान उपमहानगरको बजार अनुगमन समितिकी संयोजक एवम् उपप्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा सोमबार मासु व्यवसायी, किसान, डिलर र उपमहानगरका पदाधिकारीबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बोइलर कुखुरा ल्याउँदा अनिवार्य पीसीआर, कुखुराको क्वारेन्टिनमा स्वास्थ्य परीक्षण र उत्पादन स्थलको बिललगायतको प्रमाणहरू चाहिने व्यवस्था थिएन ।
यसलाई अनुगमन तथा अध्ययन गर्नका लागि धरान उपमहानगरको पशु स्वास्थ्य शाखाका प्रमुख महेन्द्र पैकाराको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन भएको छ । यो समितिले धरानमा कुखुराको मासुको मूल्यसमेत निर्धारण गर्ने जिम्मेवारी पाएको छ । अब धरानमा ३२० रुपैयाँ प्रतिकेजीभन्दा माथि कुखुराको मासु बिक्री गर्न नपाइने निर्णय गरिएको छ । ‘आजैबाट लागू हुने गरी मासुको दररेट कायम गरिएको छ’ धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले भने ।